जाली नोटसहित दुई जना पक्राउ

भक्तपुर, चैत्र २
जाली नेपाली मुद्रा (नोट)सहित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौंको कालोपुलबाट दुई जनालाई बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई हाल काठमाण्डौं. माकलबारी बस्ने ३४ वर्षिय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका ७ घर भई हाल काठमाण्डौं सतुङगल बस्ने २४ वर्षिय सुरेन्द्र कार्की छन ।
कालोपुल क्षेत्रमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई जाली नोटसहित पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली जाली नोट ६ लाख ३६ हजार समेत बरामद गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी सोमेन्द्र सिंह राठौरले बताउनुभयो । “पक्राउ परेका दुई जनाको साथबाट ६३६ थान नेपाली एक हजार दरका जाली नोट र नोटको साईजमा काटेको कागजको ९ बण्डल बरामद गरिएको छ,” एसपी राठौरले भन्नुभयो ।
पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको उहाँले बताउनुभयो ।