नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न

भक्तपुर, चैत्र ४
आठौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौंले जितेको छ । सेन्टरले पाकिस्तान एम्बेसी क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा पहिले व्याटिङ गरेको एम्बेसी क्रिकेट क्लवले १७.४ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा ओर्लेको सेन्टरले १५.१ ओभरमा ११८ रन बनाउँदैं उपाधि जितेको हो ।


विजेता टोलीलाई पुर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले ‘हिमालय शमशेर राना ट्रफी’ प्रदान गर्दै प्रतियोगिता एउटा खेलको आयोजना मात्र नभई दुई देशबीचको आपसी सम्बन्ध, भाइचाराको अभिबृद्धि गर्ने सेतु भएको बताउनुभयो ।
सो अवसरमा पाकिस्तानी राजदुत अमिर अलीले यो प्रतियोगिताले नेपाल पाकिस्तानबीच समान सरोकारकार विषयमा सहकार्य र समन्वय बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशका युवाहरुको खेल क्षेत्रमा प्रोत्साहित गर्न यस्तो यस्ता प्रतियोगितालाई निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा नेपालका लागि चीनका राजदुत चेन सङ, परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी र काठमाण्डौंस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।