३४६ वर्ष पुरानो थन्थु दरबार पुनर्निर्माण शुरु

भक्तपुर, बैशाख २४
भक्तपुर नगरपालिकाले दरवार क्षेत्रमा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्वको थन्थु दरवार पुनर्निर्माणको लागि सोमवार शिलान्यास गरेको छ । नगरपालिकाको पुरानो कार्यालय भवन रहेको उक्त दरवारको पुनर्निर्माणका लागि सांसद प्रेम सुवालले शिलान्यास गर्नुभएको हो ।
उक्त दरवार ३४६ वर्ष पुरानो रहेको नगरपालिकाले जनाएको छ । दरवार पुनर्निर्माणका लागि १२ करोड ८५ लाख ३४ हजार रुपैंयाको लागत ईष्टिमेट तयार भई स्विकृत समेत भइसकेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । दरवार पुनर्निर्माणका लागि पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरिएको छ । त्यस्तै १ करोड ५८ लाख रुपैंयाको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।


२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको थन्थु दरबार भत्काउन मात्र १३ लाख ३८ हजार रुपैंयाको लगत इस्टिमेट तयार भएकोमा ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको बताउँदै उहाँले दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको र त्यसको उत्खनन् कार्य पनि भएको प्रष्ट पार्नुभयो ।


दरवार शिलान्यास गर्दै सांसद सुवालले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन्को विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरु बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पु¥याउनेतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुरका १०० वर्ष पुराना घरहरु बस्नको लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरुबाट परीक्षण गर्नु खाँचो रहेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणमा मौलिकता संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । सम्पदा संरक्षण पर्यटनसँग पनि जोडिएको विषय भएकोले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा नयाँ नयाँ योजनाहरु आवश्यक भएको बताउँदै देशको सन्तुलित विकास गर्न उपत्यका बाहिर स–साना सुविधासम्पन्न सहरहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।


बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले पुरातात्विक र प्राचिक दृष्टिकोणले महत्वपूर्ण सांस्कृतिक धरोहर नयाँ पुस्ताको लागि जोगाउन र संरक्षण गर्नु मानव सभ्यताकै पुनःजागरण भएको बताउँदै अरनिको सभाभवन र थन्थु दरबार पुनर्निर्माण भक्तपुरको मात्र नभई देशकै निम्ति उत्साह र गौरवको विषय भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले थन्थु दरबार उत्खनन्का क्रममा उक्त दरबार राजनीतिक र मनोरञ्जनात्मक उद्देश्यले निर्माण भएको तथ्यहरु भेटिएको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको मौलिक परम्परा र संस्कृति जगेर्ना गरी सम्पदा पुनर्निर्माण गर्ने कार्यमा भक्तपुर अग्रस्थानमा रहेको बताउँदै मल्लकालीन संरचनामा पुनर्निर्माण हुने थन्थु दरबारले भक्तपुरको दरबार क्षेत्रको सुन्दरता अझ बढाउने विश्वास व्यक्त गर्नुभयो ।
दरबार हेरचाह अड्डाका कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा माटो जोडाइको प्रविधिलाई जोड दिनुपर्ने बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा ३४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नपाले पुरानै मौलिक स्वरुपमा पुनर्निर्माण कार्य अगाडि बढाउनु प्रशंसनीय भएको बताउनुभयो ।
५५ झ्याल दरबारको अध्ययन अनुसन्धानको क्रममा जग खण्ड उत्खनन् गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको बताउँदै प्रा.डा. श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन–अन्वेषण सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले दरवारको विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।