भक्तपुर अस्पताललाई देशकै स्वास्थ्य उपचारको हब बनाइने ः प्रदेश स्वास्थ्य मन्त्री श्रेष्ठ

ललिता साह, भक्तपुर, बैशाख २५
भक्तपुर अस्पताललाई देशकै नमूना तथा स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बताउनुभएको छ ।
भक्तपुर अस्पतालको मंगलवार नवनिर्मित अप्रेशन थिएटर भवनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले प्रदेशको अरु अस्पतालको तुलनामा बढी बजेट विनियोजन गरेको र यसलाई स्वास्थ्य उपचारको हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभएको हो ।
उहाँले अस्पताल भौतिकरुपमा सम्पन्न भएकोले अब सेवा प्रवाह पनि उच्च गुणस्तरको हुनुपर्ने अस्पताल प्रशासनलाई सुझाव दिनुभयो ।


उहाँले मेडिकल शिक्षाको नाममा वर्षेनी अर्बौ रकम बाहिरिने गरेकोले यसलाई रोकेर देशमै लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य क्षेत्रमा हाम्रो जनशक्ति अब्बल रहेकोले हजारौको संख्यामा भारतीय नागरिकहरू उपचारको लागि नेपाल आउँछन,” उहाँले भन्नुभयो, “विडम्बना मेडिकल पढाउने नाममा वर्षेनी अर्बौ रकम बाहिरिदै आएको छ । यसलाई रोकेर देशमै लगानी गर्न सक्नुपर्छ ।”
उहाँले प्रदेश सरकारले संचालनमा ल्याएको .स्वास्थ्य विमाले प्रदेशका सिमान्तकृत, लोपोन्मुख जातीका करिव आठ हजार परिवारले सेवा लिइसकेको जानकारी दिनुभयो ।
नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाल र वेलायतको कूटनीतिक सम्बन्ध दुई शताब्दी पुरानो रहेको चर्चा गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुधारको निम्ती सहयोग गर्न बेलायत सरकारसँधै तयार रहेको बताउनुभयो ।


उहाँले भक्तपुर अस्पतालको स्त्तोरन्नतीमा साझेदार बन्ने मौका पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले जनस्वास्थ्यमा नेपालले पाएको सफलताको पनि प्रशंसा गर्नुभयो । भक्तपुर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रमण कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका निर्देशक डा. सुमित्रा गौतमले अस्पतालको इतिहास र वर्तमान अवस्थाबारे प्रस्तुती दिनुभएको थियो ।
समारोहमा प्रदेश सभा सदस्यहरु सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, किरण थापा, धनेश्वरी प्रजापति, बागमती प्रदेशको मुख्यमन्त्रीको राजनैतिक सल्लाहकार डिवी ढकाल, प्रमूख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति लगायतको उपस्थिति रहेको थियो ।