बोलेरोको ठक्करले पैदलयात्रीको मृत्यु

भक्तपुर, बैशाख २५
भक्तपुरको मिलनचोकमा बोलेरो गाडीको ठक्करले मंगलवार एक पैदलयात्रीको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदैं गरेको ना. ५ ख. २३६१ नं. को बोलेरोको ठक्करले गोरखा पालुनटार नगरपालिका–२ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने ३८ वर्षिय कमल बयलकोटीको मृत्यु भएको हो ।
सूर्यविनायक नगरपालिका–९ मिलनचोकमा भएको उक्त दुर्घटनामा गम्भिर घाईते भएका बयलकोटीलाई उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल रिफर गरिएको त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
प्रहरीले ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका–१६ बस्ने २३ वर्षिय सागर माझीलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उहाँले बताउनुभयो ।