नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान शुरु

भक्तपुर, असोज ९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मंगलवारबाट सिटी स्क्यान सञ्चालनमा आएको छ । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा आएको हो ।
अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएको लामो समय भएपनि सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ पुरा नहुँदा सञ्चालन हुन सकेको थिएन । अस्पतालमा सिटी स्क्यान सञ्चालन भएसँगै बिरामीहरुले थप गुणस्तरिय सेवा प्राप्त गर्ने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले मेसिन जडान गर्न र प्राविधिक सेटिङका लागि समेत भारतबाट जनशक्ति मगाउनु पर्ने अवस्थाले सिटी स्क्यान सञ्चालनमा केही ढिलाई भएपनि उत्कृष्ट स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीले गुणस्तरिय सेवा दिने व्यवस्थासहित सिटी स्क्यान सञ्चालनमा ल्याएको बताउनुभयो ।
“नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आएको छ । यसले अस्पतालमा आउने बिरामीले थप गुणस्तरिय सेवा प्राप्त गर्नेछ,” उहाँले भन्नुभयो ।
सिटी स्क्यान सञ्चालनको निरिक्षण गर्दै उपप्रमुख विजयकृष्ण श्रेष्ठले निर्वाचनमा जनतासँग गरेको गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप अस्पतालमा सिटी स्क्यान सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले अस्पतालको यो उपलब्धीले मध्यपुर थिमिका बासिन्दा मात्र होइन सिंगो भक्तपुर र आसपासका जिल्लाका नागरिकले समेत सहुलियत दरमा गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. डि.के रौशनले बुधवारबाट सिटी स्क्यान नियमित सञ्चालन हुने जानकारी दिनुभयो । “सिटी स्क्यान जडान भएपनि केही प्राविधिक कारणले सञ्चालन हुन सकेको थिएन । अब सबै प्राविधिक काम सम्पन्न भइसकेको छ । आज परिक्षणका रुपमा केही बिरामीको सिटी स्क्यान ग¥र्यौ । अब बुधवारबाट नियमित सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो ।