शान्ति सुरक्षा, सुशासन, पारदर्शीता र अपराध नियन्त्रण प्रमुख प्राथमिकता–प्रजिअ श्रेष्ठ

भक्तपुर, असोज ९
भक्तपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोशनीकुमारी श्रेष्ठले शान्ति सुरक्षा, सुशासन, पारदर्शीता र अपराध नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघमार्फत सोमवार भक्तपुरका क्रियाशिल पत्रकारहरुसँगको भेटघाट एवम् परिचयात्मक कार्यक्रममा प्रजिअ श्रेष्ठले सुझाव माग गर्दै शान्ति, सुशासन, पारदर्शीता र अपराध नियन्त्रणमा जिल्लाका नागरिक समाज, सञ्चारकर्मी, पेशागत संघसंस्था र राजनीतिक दलहरुसँग सहकार्य र समन्वयका साथ प्रभावकारी कार्य गर्ने बताउनुभएको हो ।
उहाँले राज्यको चौंथो अंग र विशेषगरी सूचनाको क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु समाजको समेत सचेत वर्ग भएकाले पत्रकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न सूचनाको आदानप्रदान गर्न आग्रह गर्नुभयो ।
“पत्रकारले दिने सूचनाका आधारमा सम्भावित अपराध रोक्न सक्छ । भैरहेका अनियमितता र असामाजिक गतिविधिलाई अन्त्य गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले दशैँ तिहार जस्ता ठुला चाडपर्व नजिकिदै गएकाले हुनसक्ने चोरी, लुटपाटका घटना रोक्न प्रभावकारी योजना बनाउनुपर्ने, बजार अनुगमनलाई नियमित र प्रभावकारी पार्नुपर्ने, छ लेन सडकमा सवारी दुर्घटना न्यूनीकरणका विशेष योजना बनाउनुपर्ने, द्रुत बस सेवाका कारण हुनसक्ने दुर्घटनाबारे सचेत रहनुपर्ने, दायाँबायाँ ट्रयाक खोल्नुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्ने त्यस्तै सूर्यविनायक धुलीखेल सडक आयोजना समयमै सम्पन्न गर्न समन्वय गर्नुपर्ने र सार्वजनिक जग्गाको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै उनीहरुले सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता नगरेका, स्कूल शिक्षकले अपहेलित महसुस गरिरहेका र सरकारी अस्पतालमा उपचार गराउने बिरामीलाई घन्टौ कुर्नुपर्ने, भौतिक योजनातर्फ ठेक्का लागेर पनि समयमै संरचना नबन्ने र बनेका पनि केही महिनामै बिग्रिएका बारे अवगत गराउदै कारवाही गर्न सुझाव दिएका थिए ।

महासंघका अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रजिअ जिल्लामा संघीय सरकारको प्रमुख प्रतिनिधि भएकाले सरकार, व्यवस्था र राज्यलाई बलियो बनाउन जिम्मेवारीका काम गर्नुपर्ने र प्रशासनले दिने सेवा प्रवाह सरकारको प्रभावकारिताको मूल्यांकनको मानक हुने भएकाले प्रशासनमा नागरिकको सहज र सरल पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव संजीप घिमिरे शुभचिन्तक, संस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष विकल श्रेष्ठ कार्यसमिति सदस्य रामगोपाल तमखु, संजीवप्रसाद दुलाल, रुपक ढुंगाना त्यस्तै पत्रकार सुरेश सायजू, डा. इन्दुल किसी, प्रदिप ढकाल, प्रजापति, अन्जिर सिंह बिक र बाबुराम दाहाल लगायत सहभागी रहेको थियो ।