विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुने

भक्तपुर, असोज ९
विश्व मुटु दिवसको अवसरमा यही असोज १३ गते शनिवार मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०२३ हुने भएको छ । लाइन्स इन्टरनेशनल डिष्ट्रिक एच अन्तर्गतका ५ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, चाँगुनारायण, बालकोट, प्रिन्सिपल र निलकण्ठेश्वरको आयोजनामा उक्त सम्पदा पदयात्रा हुन लागेको हो ।
मूख्य दुई उद्देश्यले सम्पदा पदयात्रा गर्न लागिएको आयोजक समितिका संयोजक उद्धव सिलवालले बताउनुभयो । मुटु दिवसको अवसरमा मुटुलाई स्वस्थ राख्न दैनिक व्यायामका साथै बिहान हिँड्नु पर्छ भन्ने सन्देश सहित मध्यपुर थिमिका सम्पदाको प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटकको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा गर्न लागिएको सिलवालले बताउनुभयो ।
“पदयात्राको मूख्य उद्देश्य मुटुलाई स्वस्थ राख्न सचेतना फैलाउने र मध्यपुर थिमिको पोखरी, पार्टी पौवा, मठमन्दिर, बिहार, ढुंगेधारा, मौलिक पेशा व्यवसाय र यहाँको मौलिक कला संस्कृतिको चिनारी प्रवद्र्धन र प्रचार प्रसार गर्नु हो,” सिलवालले भन्नुभयो ।


उहाँका अनुसार पदयात्रा मध्यपुर थिमि ४, शंखधरचोकस्थित नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको शालिकबाट प्रारम्भ भई बालकुमारी, दुई पोखरी, पाटी विहार, सिद्धिकाली नगदेश, टिगनी, निलवाराही मन्दिरबाट बोडे लायकू हुदै कुमारी मन्दिर बोडेमा पुगेर समापन हुनेछ । पदयात्राको लम्वाई करिव ४ दशमलव ५ किलोमिटर लामो हुनेछ ।
पदयात्रामा आयोजक लाइन्स क्लवका पदाधिकारी, सदस्यहरु र लायन्सका विभिन्न समितिमा रहेका पदाधिकारीहरुसहित करिव ३ सय जनाको सहभागिता रहने सिवलालले जानकारी दिनुभयो । उहाँले पदयात्राका लागि मध्यपुर थिमि नगरपालिकासँग पनि सहकार्य गरिने बताउनुभयो । पदयात्राका लागि मध्यपुर थिमिको स्थलगत अवलोकन गरी पदमार्ग तय गर्नुका साथै अन्य तयारी भइरहेको जानकारी दिनुभयो ।