बक्सिङमा संगीता, दिपक र मिनु पराजित

भक्तपुर, असोज ७
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा आइतवार नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी हा थि लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् ।
हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा संगीतालाई भियतनामकी लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।
त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन् ।
महिला ५४ केजीमा नेपालकी मिनु गुरुङको पनि चुनौती समाप्त भएको छ । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी मिनु जापानकी किनोसिता रिंकासंग ५–० ले पराजित भइन् । व्यक्तिगत स्पर्धामा नेपालबाट सबै भन्दा बढी खेलाडी सहभागी खेल बक्सिङ हो । पुरुष ७ र महिला ६ गरी १३ खेलाडी सहभागी छन् ।