प्रदिपको विजयी सुरुआत

भक्तपुर, असोज ७
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदिप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदिपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।
जितसंगै प्रदिप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा उनले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।
महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–० ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदिप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले पराजित भए ।
प्रदिपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा सोमवार खेल्नेछन् । साथै अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।