जनतासँग भेट्न पाउँदा ज्यादा खुशी लाग्छ–पुर्वराजा ज्ञानेन्द्र

भक्तपुर, असोज ७
पुर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग भेट्न पाउँदा आफुलाई ज्यादा खुशी लाग्ने गरेको बताउनुभएको छ । भक्तपुरको तलेजु र भैरवनाथको दर्शन र पुजा पछि होटल ग्रिनल्याण्डमा नागरिकसँग भेटघाट गर्नुभएका पुर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँगको भेटमा सो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले भक्तपुरका जनताबाट अपार माया र सदभाव पाएको बताउँदैं राजनीतिक टिप्पणी र प्रतिक्रिया भने दिन चाहनुभएन ।
भेटघाटमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले सोध्नु भएको ‘भक्तपुरको भ्रमणमा कस्तो अनुभुती गर्नुभयो’ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “जनतासँग भेट्न पाउँदा ज्यादा खुशी लाग्छ । भक्तपुरका जनताबाट अपार माया र सद्भाव पाएको छु ।”
महासंघका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ले मुलुक राजनीतिक सहमति अनुसार अघि बढेको प्रसंग कोट्याउँदैं पुर्वराजा ज्ञानेन्द्रको धारणा के छ भनी प्रश्न गर्नुभएको थियो । सो प्रश्नमा पुर्वराजा ज्ञानेन्द्रले ‘ठिकै छ’ भनी प्रतिक्रिया दिनुभएको थियो ।


यसअघि पुर्वराजा ज्ञानेन्द्र करिव ३ बजे भक्तपुर दरवारस्क्वायर आइपुग्नु भएको थियो । ज्ञानेन्द्रलाई समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका थिए । व्यवस्थापन फितलो हुँदा शुभेच्छा प्रकट गर्न आएका समर्थकहरुको भिडले ठेलमठेल गर्दा पुर्वराजा ज्ञानेन्द्रलाई तलेजु मन्दिर पुग्न निक्कै सकस भएको थियो । सुरक्षाकर्मीहरुले ज्ञानेन्द्रलाई भिडबाट जोगाउँदैं तलेजु मन्दिर पु¥याएका थिए ।
पुर्वराजा ज्ञानेन्द्रले तलेजु भवानीको दर्शन र पुजापछि भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दै उपस्थित समर्थकहरुलाई अभिवादन गर्नुभयो । त्यहाँबाट उहाँ भैरवनाथको दर्शनको लागि टौमढी पुग्नुभयो । टौमढीमा पनि हजारौं जनताले स्वागत गरेको थियो । भैरवको दर्शन अघि ज्ञानेन्द्रले टौमढीको डबलीमा उहाँको स्वागतमा दाफा भजन गाइरहनु भएको टोलीलाई भेटगरी दक्षिण चढाउनुभयो ।
पुर्वराजालाई समर्थकहरुले धिमेबाजा, खिँ बाजाले स्वागत गरेका थिए भने महाकाली नाच समेत प्रस्तुत गरिएको थियो । समर्थकहरुले ज्ञानेन्द्रको स्वागतमो ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए ।