कटुञ्जे घट्टेखोला खानेपानीमा ढुंगेल विजयी

भक्तपुर, असोज ७
भक्तपुरको पहिलो खानेपानी समिति कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको अध्यक्षमा प्रकाशराज ढुंगेल निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुलाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले जानकारी दिनुभयो ।
समितिमा ढुंगेल प्यानलका लक्ष्मण थापा उपाध्यक्ष, जीवन बखुन्छें कोषाध्यक्षमा नर्वाचित हुनुभयो भने सचिवमा कमल तिमल्सिना निर्विरोध निर्वाचित भएको थियो ।
यस्तै समितिको क्षेत्रगत अध्यक्षहरु मध्ये क्षेत्र नं. ३ मा हरिओम ढुंगेल र क्षेत्र नं. ४ मा रमेश खड्का र क्षेत्र नं. ६ मा मदन दाहाल निर्वाचित हुनुभयो । निर्वाचित तीनै जना ढुंगेल प्यानलका हुन ।
यसैगरी बासुको प्यानलबाट क्षेत्र नं. १ को अध्यक्षमा सानुकाजी बखुन्छें, २ मा पूर्ण बहादुर तज, ५ मा हरि नेपाल र ९ मा कृष्णभक्त खिउजु विजयी हुनुभयो ।
समितिको महिला सदस्यहरुमा ढुंगेल प्यानलका नानीमैया आगन्जा गोसाईं, रामलक्ष्मी कोजु, गंगा ढुंगेल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष ढुंगेलले ईन्युज डटकमसँग संक्षिप्त कुराकानी गर्दै निर्वाचनका बेला खानेपानीका उपभोक्ता समक्ष प्रस्तुत गरिएका प्रतिवद्धता पुरा गर्ने प्रतिक्रिया दिनुभयो । उहाँले सम्पूर्ण उपभोक्तालाई धन्यवाद दिँदैं सबैपक्षसँग सहकार्य गरी खानेपानीका विद्यमान समस्या समाधान गर्ने र खानेपानीको बिस्तारका लागि थप योजना ल्याई सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।