भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

भक्तपुर, असोज १०
विश्व पर्यटन दिवसको अवसरमा बुधवार भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतिय नागरिकलाई खाँदा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।
‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।
पर्यटकलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले भन्नुभयो, “सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नपाले आवश्यक पहल गर्दै आइरहेको छ ।”


भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका एक अन्ना सिंहले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोको लागि धन्यवाद ज्ञापन गर्दै भक्तपुरका कला कृतिहरु आफैमा अद्धितीय रहेको र यहाँको पर्यटन प्रवद्र्धनमा आफ्नोतर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।