भक्तपुर नगरका साँस्कृतिक गुरुहरु सम्मानीत

भक्तपुर, असोज १०
भक्तपुर नगरपालिकाले यसवर्षको सापारु (गाईजात्रा)मा प्रदर्शन गरिएका मौलिक र परम्परागत प्याखँ (नाच) प्रतियोगितामा विजयी समूहलाई बुधवार पुरस्कृत गरेको छ । विश्व पर्यटनको दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले साँस्कृतिक गुरुहरुलाई समेत सम्मान गरेको छ ।
यसवर्षको सापारुमा प्रर्दशन गरिएका प्याखँहरु मध्ये यापी भैरव भजन मण्डल प्रथम भएको थियो । सो अवसरमा २२ जना साँस्कृतिक गुरुहरुलाई जनही २० हजार रुपैंयासहित सम्मान गरेको थियो ।
सम्मानीत हुने गुरुहरुमा भक्तपुर वडा नं. १ का बुद्धिभक्त सिन्ताकल र दिपानन्द बज्राचार्य, वडा नं २ बाट हरिभक्त खुसु र पुण्यराम कोजु, वडा नं ३ बाट बिसलाल स्वंगमिखा र रामभक्त कर्माचार्य, वडा नं ४ बाट नारायणप्रसाद सुवाल र कृष्णभक्त नागाजु, वडा नं ५ बाट कृष्णभक्त तमखु र कृष्णगोपाल माक, वडा नं ६ बाट न्हुछेकुमार अवाल र न्हुछेबहादुर त्यात रहेका छन ।
यसैगरी वडा नं ७ बाट कृष्णभक्त दुमरु र तुल्सीभक्त तजले, वडा नं ८ बाट दश सायँजु र कान्छा गोसाईं, वडा नं ९ बाट पूर्णभक्त प्रजापति, धनबहादुर मानन्धर र श्याम शाही, वडा नं १० बाट कृष्णभक्त माकजु र पुष्परत्न शाक्य छन ।
त्यस्तै कला र सांस्कृतिक सम्पदा जगेर्नाको लागि नवदुर्गाको मुकुण्डो बनाउँदै आउनुभएका पुर्ण चित्रकार र नायोखिं बाजा प्रशिक्षक श्याम शाहीलाई विशेष सम्मान पुरस्कारको रुपमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति भएको बताउनुभयो । उहाँले भक्तपुरको संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृतिकर्मीहरुको सम्मान आत्मसम्मान बढ्ने बताउँदैं उहाँहरुको योगदान नयाँ पुस्ताले थाहा पाउने विश्वास व्यक्त गर्नुभयो ।


सहकारी संस्था तथा अन्य संघ संस्थाहरुले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आदर निकेतनहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बिजुक्छेँले अशक्त र असहाय नागरिकहरुलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले शिक्षक आन्दोलन स्थानीय तहको अधिकार कटौती गरी संघ सरकारमा पु¥याउने खालको भएको बताउँदै जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु भनेको पञ्चायतकालीन व्यवस्थाको पुनःस्थापना गर्नु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रामा प्रस्तुत भएका घिन्ताङघिसी, अन्य परम्परागत र आधुनिक विधाका संस्कृतिहरुको अलग अलग मूल्यांकन गरी पुरस्कारको व्यवस्था गर्नु आफैमा संस्कृतिको संरक्षण र अझ व्यवस्थित प्रस्तुतीको लागि वातावरण तयार गर्न खोजिएको बताउनुभयो ।
भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै उहाँले २०७२ सालको भूकम्पबाट भत्केका कयौं सम्पदाहरु भक्तपुर नपाले विदेशीको सहयोग विना नै स्थानीय जनताको साथ र सहयोगमा सम्पदा पुनःनिर्माण गर्नु सबै भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताउनुभयो ।
उहाँले कला, संस्कृतिक संरक्षण, ऐतिहासिक र सांस्कृतिक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगरको रुपमा विकसित भक्तपुर नपाले अग्रजहरुले गर्नुभएका कामलाई निरन्तरता दिँदै समयअनुसार नयाँ नयाँ अध्ययन, अनुसन्धान र उत्खनन्का कार्यहरु गर्दै भक्तपुरलाई समृद्ध बनाउने कार्यमा निरन्तर लागिरहेको बताउनुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले नाचगानको राजधानी भक्तपुर अहिले जनताको साहित्य र जनताको संस्कृतिले मूर्त रुप लिँदै गरेको जीवन्त सहरको रुपमा विकास भइरहेको बताउँदै भक्तपुरको बेजोड मौलिक शैलीको नाचगान र नृत्य हाम्रो अमूल्य सम्पत्ति हो र यसलाई निरन्तर संरक्षण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सांस्कृतिक धरोहरलाई विश्वसामु उजागर गर्न विश्व पर्यटन दिवसको अवसरमा संस्कृतिकर्मी सम्मान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र्र निरौलाले ऐतिहासिक नगरी भक्तपुर सबै क्षेत्रमा अग्रणी रहेको बताउँदै आगामी दिनहरुमा पनि जिप्रका र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले अमूर्त सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने संस्कृतिकर्मी सम्मान कार्यक्रम सराहनीय भएको बताउनुभयो ।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले गुन्हीपुन्ही र सापारुको ऐतिहासिक पक्षमाथि चर्चा गर्दै प्राचिनकालदेखि प्रचलनमा आएको गुन्हीपुन्ही र सापारु भक्तपुरको महत्वपूर्ण पर्व भएको बताउनुभयो । पर्यटन प्रवद्र्धनमा भक्तपुरले फड्को मारेको बताउँदै डा. श्रेष्ठले भक्तपुर पर्यटन प्रवद्र्धनको लागि धेरै सम्भावना भएको ठाउँ हो भन्नुभयो ।