छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथलीमा श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० शुरु

भक्तपुर, असोज ११
भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा बिहिवारदेखी श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० प्रारम्भ भएको छ । आश्रमको सहयोगार्थ आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञ असोज २७ गते सम्म सञ्चालन हुनेछ ।
महायज्ञको शुभारम्भ अघि उत्तरगयाबाट कलश यात्रा शुरु गरिएको थियो । उक्त कलशयात्रा हैमादेवी, बासुकीथान, गणेश मन्दिर, कृष्ण मन्दिर, चित्तापोल खुलाल गाउँ राधाकृष्ण मन्दिर, डाँडावारी हुँदैं माझी भैरव, ऋृद्धिसिद्धी गणेशथान, गोठाले चौर, सौडोल, फैढोका भिमेश्वर मन्दिर, राम मन्दिर, विन्दवासिनी, वनमाला टोल, गणेशथान हुँदैं महायज्ञ स्थल आश्रम पुगेर समापन भएको थियो ।


महायज्ञको समुदघाटनमा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले राज्यले पालनपोषण गर्नुपर्ने असाह्य, बेसहारा, पिडित, दुःखी, गरीव र आधारभुत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क गास, बास, कपास र स्वास्थ्य सेवा प्रदान गरेर छोरीको घर ज्येष्ठ नागरिक आश्रमले सह्रानीय कार्य गरेको बताउनुभयो ।
उहाँले समृद्ध देशमा बाल आश्रम, बृद्धा आश्रम बनाउने र संरक्षण गर्ने कार्य सरकार स्वयमले गरेतापनि हाम्रो देशमा अझै विभिन्न संघ संस्थाले दाताको सहयोगमा सञ्चालन गर्नु परिरहेको चर्चा गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर नै थप उच्च बनाएको बताउनुभयो । “चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो ।” नगरप्रमुख खत्रीले भन्नुभयो, “साँस्कृतिक धरोहरले भरिपूर्ण रहेको हाम्रो नगरको शिर उच्च बनाउनको लागी हाल सञ्चालन भएको महायज्ञले पुलको काम गरेको छ ।”


नगरप्रमुख खत्रीले छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माण गर्नको लागी चाँगु नगरबासी मिलेर साकार पार्ने बताउँदैं चाँगुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
महायज्ञको समुद्घाटन कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता सुरेश श्रेष्ठ, बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री एवम् कांग्रेस नेता कृष्णलाल भँडेल, नेपाली कांग्रेसका जिल्ला समितिका सहसचिव यादव प्रसाद अधिकारीलगायतका नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।


महायज्ञबाट आश्रमको सञ्चालन र आश्रम निर्माणका लागि जग्गा खरिद गर्न आवश्यक आर्थिक संकलन गर्ने लक्ष्य राखिएको आश्रम सञ्चालक समितिका अध्यक्ष वालयोगेश्वर विजय मुर्ती महाराजले बताउनुभयो ।
उहाँका अनुसार हाल ५० आना क्षेत्रफलको जग्गा भाडामा लिएर सञ्चालन भइरहेको आश्रमको भवन निर्माणका लागि ताथलीमा नै ५० आना जग्गा खरिदको प्रक्रिया अघि बढेको छ । महायज्ञबाट संकलन भएको रकम महायज्ञ अवधीमा नै निर्माण समिति गठन गरी हस्तान्तरण गरी निर्माण कार्य शुरु गरिने उहाँले जानकारी दिनुभयो ।महायज्ञमा प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नेछ ।