मध्यपुर थिमि नगरपालिकामा आ.व.२०७९÷०८० को वार्षिक प्रगती समिक्षा

भक्तपुर, असोज ११
मध्यपुर थिमि नगरपालिकाले बिहिवार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा गरेको छ । नगरपालिकाले सोही अवसरमा नगरसभाबाट पारित आर्थिक वर्ष २०८०÷०८१ को विनियोजन ऐन २०८०, नीति तथा कार्यक्रम, बजेट र योजनासहितको पुस्तिका समेत सार्वजनिक गरेको छ ।
सो अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले वार्षिक समिक्षाले नगरपालिकाको सेवा प्रवाह कुन स्तरमा छ भन्ने मापन हुने र आगामी वर्षको नीति निर्माण र योजना कार्यान्वयनका लागि पृष्ठपोषण प्राप्त हुने भएकाले यसको महत्व रहेको बताउनुभयो ।
उहाँले वार्षिकरुपमा प्रगतीको तुलनात्मक नतिजाको लागि पनि समिक्षा गर्नु आवश्यक भएको चर्चा गर्दै यसले कर्मचारीको वृत्ति विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले समिक्षामा प्रस्तुत भएको प्रगती प्रतिवेदनले वडा कार्यालय र विषयगत शाखाहरुले एक वर्षमा के कति कार्य गरे, ती कार्य गर्दा के कस्ता समस्या र कठिनाई आइपरे भन्ने बारे जानकारी हुने र यसले आगामी दिनमा कार्य योजनालाई थप परिष्कृत गर्दै लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रगती प्रतिवेदनको विस्तृत अध्ययन गरी प्राप्त नतिजालाई सार्वजनिक सुनुवाई मार्फत आम नगरवासी समक्ष पुर्याउने र नगरपालिकाको सेवा प्रवाहका बारेमा नगरवासीको धारणा संकलन गरी सुधार ल्याउने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको १ देखी ९ नं. वडा कार्यालय, २ वटा महाशाखा र १५ वटा विभिन्न विषयगत शाखाहरुले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगती प्रस्तुत गरेको थियो ।
वडा अध्यक्ष र वडा प्रशासकिय प्रमुखहरुले कार्यालयले वार्षिकरुपमा गरेका सेवा प्रवाह अन्तर्गत राजश्व संकलन, सिफारिस, नाता प्रमाणित, बसाई सराई, घटना दर्ता र योजना कार्यान्वयनको अवस्था जानकारी दिएका थिए । साथै सेवा प्रवाहमा आईपरेका कठिनाई, समस्या र चुनौतीका बारेमा पनि जानकारी दिएका थिए ।


यस्तै महाशाखा र विषयगत शाखाहरुले पनि मानव संशाधन, सेवा प्रवाहको अवस्था, उपलब्धी, चुनौती प्रस्तुत गर्दै लक्ष्य अनुरुप भएका प्रगती विवरण प्रस्तुत गरेका थिए । प्रस्तुती करणका क्रममा केही वडाका वडा प्रशासकिय प्रमुखहरुले नगरपालिकाले पहिलो पटक बृहत समिक्षा गरेको उल्लेख गर्दै कर्मचारीहरुलाई वृत्ति विकासको लागि आवश्यक तालिम आवश्यक भएको बताएका थिए ।