कानून दिवसमा ‘ख्वय न्याय दबू’ पुस्तक सार्वजनिक

भक्तपुर, बैशाख २७
ख्वप कलेज अफ लले ‘ख्वप न्याय दबू’ नामको पुस्तक सार्वजनिक गरेको छ । ७२ औं कानून दिवसको अवसरमा बुधवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उक्त पुस्तक विमोचन गर्दै सार्वजनिक गरेको हो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पुस्तकमा प्रकाशित लेखहरु गहन विषयमा आधारित भएको धारणा राख्नुभयो । उहाँले हरेक क्षेत्रमा कानुनको ज्ञान भएको मानिस आवश्यक भएको बताउँदैं राजनीतिक कार्यकर्ताहरुलाई सबभन्दा बढी कानुनको ज्ञान आवश्यक हुने धारणा राख्नुभयो ।
“कानुनी ज्ञान विनाको राजनीतिक कार्यकर्ता शरिरमा कुनै एक अंग नभएको मानिस जस्तै अपूर्ण हुनेछ,” उहाँले भन्नुभयो । उहाँले विद्यालय तथा कलेज तहको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने र हरेक तहको पाठ्यक्रममा कानुनी ज्ञान दिने विषय समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“कारागाराको जीवन भोगिरहेका धेरैजसो कैदीहरु ऐन, कानुनको अज्ञानताको कारण कैदी हुन बाध्य भएका छन् । नागरिकहरुलाई अनिवार्यरुपमा कानुनका सर्वमान्य सिद्धान्तहरु जानकारी गराउन सके आपराधिक घटनामा कमी आउनेछ”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेंले उत्पादनका साधनहरु सामाजिकीकरण हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, शोषणविरुद्धको हक हुने, शिक्षा–स्वास्थ्य उपचार निःशुल्क हुने, ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको व्यवस्था हुने, शारीरिक र मानसिक श्रम तथा गाउँ र सहरबिच भेद अन्त्य हुने राज्य व्यवस्था निर्माणमा सबै दल एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वसाधारण जनताका छोराछोरीहरुलाई कम शुल्कमा कानुन विषयमा उच्च शिक्षा प्रदान गर्ने, समाजलाई बुद्धिजीवीकरण गर्ने काममा सहयोग गर्ने, नयाँ पुस्तालाई एक्काईसौं शताब्दीका चुनौतीहरु सामना गर्न सक्ने देश र समाजप्रति उत्तरदायी कानुनका विद्यार्थी बनाउने, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने र श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने उद्देश्यले ख्वप कलेज अफ ल स्थापना भएको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय मानविकी तथा कानून संकायका डीन प्रा.डा. अनिल कुमार पोखरेलले कानूनले अधिकार प्रदान गरे पनि शासकहरुले आप्mनो स्वार्थमा अप्ठेरो पर्ने वितिकै जनताको अधिकार कुण्ठित गर्ने गरेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई सहज रुपमा कानून पढ्ने वातावरण भए विदेश पढ्न जानेहरुको संख्यामा कमी आउने बताउँदै नेपालमा अरु विषयको तुलनामा कानून अध्ययनतर्पm विद्यार्थीहरुको आकर्षण बढिरहेको स्पष्ट पार्नुभयो ।
फौजदारी कानूनका विज्ञ एवं वरिष्ठ अधिवक्ता प्रा.डा. रंजित भक्त प्रधानाङ्गले कानून राम्रोसँग अध्ययन गर्ने हो भने विविधशास्त्र अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ल कलेज राम्रो बनाउन पुस्तकालय राम्रो हुनुपर्नेमा जोड दिंनुभयो ।
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस बासुदेव न्यौपानेले मानिस जिवित रहँदामात्रै होइन मरिसकेपछि पनि कानूनद्वारा शोशित हुनुपर्ने बताउँदै शेषपछि बकस पत्र दिएकोमा दिने मान्छे मरेपछि कार्यान्वयनमा आउने स्पष्ट पार्नुभयो ।
कानून अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्त राम प्रसाद प्रजापति र ख्वप हलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठ, लख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी लगायतले कानून दिवस मनाउनुको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा कलेजद्वारा आयोजित निवन्ध प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि बिजुक्छेंले पुरस्कार वितरण गर्नुभएको थियो ।