मौलिक स्थान नाम प्रतिष्ठापन अभियानका बारेमा मध्यपुर थिमि नगरपालिका र नेवा देय् दबूबीच अन्तरक्रिया

भक्तपुर, बैशाख १९
मध्यपुर थिमि नगरपालिकाले शुरु गरेको नगरभित्रका टोलबस्तीहरुको मौलिक स्थान नाम प्रतिष्ठापन अभियानका बारेमा बुधवार नेवा देय् दबू स्वनीग विशेष प्रदेश समितिका पदाधिकारी र देय् दबूका काठमाण्डौं उपत्यकाभित्रका नगर कमिटीका पदाधिकारीहरुले जानकारी लिएका छन ।
देय् दबूको टोली थिमि आई सो अभियानका बारेमा जानकारी लिनुका साथै अन्तरक्रिया मार्फत अनुभव आदान प्रदान समेत गरेको हो ।


सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि नेवा सभ्यता र सँस्कृतिको धनी शहर भएको बताउँदैं यहाँको परम्परागत टोलबस्तीलाई नामसँगै स्वरुपमा समेत मौलकता र परम्परागत शैली झल्कने गरी पुननिर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले मध्यपुर थिमिका मठमन्दिर, पाटी पौवाजस्ता सम्पदासँगै ऐतिहासिक बस्ती क्षेत्रका नीजि घरहरुलाई समेत परम्परागत र मौलिक स्वरुपमा परिवर्तन गर्ने योजना रहेको बताउनुभयो ।
“बालकुमारी, भुँलाखेल, चपाचो, नगदेश, बोदेका नीजि घरहरुलाई परम्परागत र मौलिक स्वरुपमा परिवर्तन गर्ने र ती स्थानलाई पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्ने योजना अनुसार पर्यटन गुरुयोजना निर्माण गरिरहेका छौं,” उहाँले भन्नुभयो, “थिमिमा पर्यटक प्रवेश गरेपछि हेर्ने के हो त ? यहाँको मौलिकता के हो त ? हामीले यो यो हो भनेर देखाउन सक्नुपर्छ । अनी मात्र हामीले मौलिक नाम प्रतिस्थापन गरेको योजनाले सार्थकता पाउँछ ।”
उहाँले ऐतिहासिक लायकूलाई पुनर्जिवित गर्ने योजना शुरु भएको जानकारी दिनुभयो । “तत्कालिन अवस्थामा थिमिमा शिक्षाको ज्योति छर्न, विद्यालय सञ्चालनको लागि पूर्वाधार आवश्यक भएकाले लायकूमा विद्यालय सञ्चालन गरेको होला । अब लायकूलाई लायकूकैरुपमा विकास गर्नुपर्छ भन्ने सोच विकास भएको छ । त्यहाँको विद्यालय अन्य पायक पर्ने स्थानमा स्थानान्तरण गरेर भएपनि लायकूलाई पुनर्जिवित गरिनेछ,” उहाँले भन्नुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले मौलिक स्थान नाम पनि सम्पदा भएकाले यसको संरक्षणका लागि नगरपालिकाले मौलिक स्थान नाम प्रतिस्थापन गरी मौलिकताको संरक्षण गर्ने जमर्को गरेको बताउनुभयो ।
उहाँले मध्यपुर थिमिको परम्परागत पेशालाई संरक्षण गर्ने र ती पेशालाई प्रविधिसँग जोडेर, प्रविधि मैत्री बनाएर युवाहरुलाई पनि आकर्षित गरी रोजगारीको अवसर सिर्जना गर्ने, आर्थिक समृद्धिको बाटोमा अग्रसर बनाई समृद्ध मध्यपुर निर्माणको आधार तयार गर्ने योजना अघि बढाईएको जानकारी दिनुभयो ।


मध्यपुर थिमिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले मौलिक स्थान नामको प्रतिस्थापन कुनै जाती विशेषको मात्र हो भन्ने उद्देश्यले लिन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समितिका संयोजक ई. राजेन्द्र श्रेष्ठले नगरपालिकाले मौलिक स्थान नाम प्रतिष्ठापनका लागि गरेका क्रियाकलाप, समिति गठन, कार्यविधि निर्माण, नामहरुको संकलन विधि र यसका सूचकहरुलगायतको विषयमा प्रस्तुतीकरण मार्फत सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
उहाँले विश्वमा मौलिक स्थान नामको प्रतिष्ठापनका विषयमा गतिविधि, ऐन कानूनको निर्माणका विषयमा समेत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले आ–आफ्नो नगरपालिकामा भएका गतिविधिहरुको जानकारी दिँदैं मौलिक नामको सम्बन्धमा विभिन्न जिज्ञासा राख्नुभएको थियो । ती जिज्ञासालाई समितिका संयोजक ई. श्रेष्ठले समाधान गर्नुभएको थियो ।