रुपेशले जिते नवौं गणेशमान सिंह बुद्धिचालको उपाधि

भक्तपुर, बैशाख १९
नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेको छ । रुपेशले बुधवार सम्पन्न फाइनलमा क्याण्डिडेट मास्टर मिलन लामासँगको क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए । क्लासिकलमा १÷१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
द्रुतगतिको ५÷५ मिनेटको खेलमा सेतो र कालो गोटीको दुबै खेलका मिलनलाई पराजित गरि रुपेश २ – ० ले च्याम्पियन बनेको हो । रुपेशले उपाधिसहित २ लाख ५३ हजार रुपैयाँ मूल्य पर्ने यामाहा सेलुटो जिते ।
उपविजेता मिलन लामो समय पछि खेलमा फर्केका हुन । लिग चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय गरेका उनले ८० हजार रुपैयाँ प्राप्त गरे । अर्का फिडे मास्टर क्षितिज भण्डारी तेस्रो भए । उनले ५० हजार पाए ।
क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा राष्ट्रिय यु–१६ का विजेता पुरुषोत्तम सिलवाललाई १.५ – ०.५ को सोझो सेटमा हराए । चौंथो भएका पुरुषोत्तमले ३० हजार रुपैयाँ प्राप्त गरे ।


नकआउटक बाहेक लिग तर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा स्वीस लिग अनुसार नवौं चरणसम्म भएको खेलमा आयोजक क्लबका सजिन महर्जन विजयी भए । सजिनले २५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएका सर्लाहीका कमल श्रेष्ठले १५ हजार रुपैयाँ पाए । तेस्रो बनेका निकेश कुशाथा १० हजार रुपैयाँ हात पारे ।
६ लाख ३५ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा शैलेन्द्र कुमार न्यौपाने चौथो र झापाका राजन सुवेदी पाँचौ भए । तनहुँका सविनचन्द्र घिमिरे छैटौं, काठमाडौका राजेन्द्र बज्राचार्य सातौं, बद्रीलाल नेपाली आठौं, सुदिप तामाङ नवौं र केशव श्रेष्ठ दसौं भए ।
यसैगरी महिलातर्फको उपाधि पूर्व महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले जितिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । मोरङकी शान्ति धिमाल दोस्रो र काठमाडौकी पुर्णिमा गुरुङ तेस्रो भइन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ललितपुर स्पोर्ट्स क्लबसँगको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ४० जिल्लाका १ सय १२ राष्ट्रिय खेलाडी सहभागी थिए ।
लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको सभापतित्वमा भएको समापनमा पूर्व अर्थमन्त्री प्रकाश शरण महत, बागमती प्रदेशका पुर्वमन्त्री रामकृष्ण चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे ।