राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता, गोदावरी १ र भक्तपुर २ महिला टिम इभेन्टको फाइनलमा

भक्तपुर, भाद्र २१
गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलवार शुरु भएको प्रतियोगिताको पहिलो दिन गोदावरी नगरपालिका वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३–२ को सेटमा पराजित गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले जीवनलाई चलाएमान बनाउन, स्वस्थ राख्न र दिर्घ जीवन जिउन खेलकुद अति आवश्यक भएको बताए ।
उनले थोरै लगानी गरे पुग्ने र शहरदेखी ग्रामिण भेगसम्म सहज ढंगले खेल्न सकिने टेबुल टेनिस खेलको विकासका लागि स्थानीय, प्रदेश र संघ तिनै तहको सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, “टेबुल टेनिस सानो ठाउँमा, थोरै खेलाडी र थोरै स्रोत साधनले पनि खेल्न सकिन्छ । शहरी क्षेत्र देखी ग्रामिण क्षेत्रसम्म यसको पूर्वाधार कम लगानीमा निर्माण गर्न सकिन्छ । तिनै तहको सरकारले यसको विकासमा ध्यान दिनुपर्छ ।”


प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले बताए ।
टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
टिम च्याम्पियनलाई रनिङ सिल्ड प्रदान गरिने छ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा ३ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेलप्रेमी पूर्णशंकर श्रेष्ठ रहेका छन् । प्रतियोगिता भदौ २५ गतेसम्म जारी रहने छ ।
यसैबीच माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने खेलाडीमा संयोग कपाली, रुविन महर्जन, शुभश्री श्रेष्ठ, वियन्का राई, इभाना थापा मगर, प्रिन्स थापा र प्रज्ज्वल मानन्धर रहेका छन् । उक्त प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा १ रजत र ४ कांस्य पदक जितेको थियो । शुभश्री र वियन्काले रजत जितेका थिए भने बाँकीले कांस्य हात पारेका थिए ।