भन्सार छली गरी ल्याईएका कपडासहित एक जना पक्राउ

भक्तपुर, भदौ २१
भन्सार छली ल्याएका तयारी पोशाकसहित भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ११ का २५ वर्षिय किरण बिश्वकर्मा हुन ।
भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा सोमवार राती धनुषाको ढल्केबरबाट बर्दिबास सिन्धुली बि.पी. राजमार्ग हुँदै भक्तपुरतर्फ आउदै प्रदेश नं. २–०३–००१ ख १९९७ नं. को आईचर गाडीमा लुकाई छिपाई ल्याउँदैं गरेको पोशाकसहित सो गाडीका चालक बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
गाडीको पछाडी पट्टी ढालाको भित्री भागमा लुकाई छिपाई राखेको जुट र प्लाष्टिकको १६ वटा बोराभित्र भन्सार छली गरी ल्याईएका कपडा र तयारी पोशाक फेला परेपछि प्रहरीले चालक विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
बरामद गरिएको बोराभित्र विभिन्न साईज तथा रंगका घाघर २ हजार ४५४ थान, साडी २३१ थान, ब्रा ४ हजार ६९२ थान, महिलाले लगाउने, वानपिस कपडा २० थान, कुर्था सुरुवाल ४८० थान फेला परेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।
पक्राउ परेका विश्वकर्मालाई बरामद गरिएका सामान र गाडीसहित आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुरमा पठाईएको प्रनाउ पाण्डेले बताउनुभयो ।