डलर देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर, बैशाख १३
अमेरिकी मुद्रा डलर देखाई टगी गरेको अभियोगमा भक्तपुर प्रहरीले आज (बिहिवार) दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बस्ने २९ वर्षिय सरोज तामाङ र ३६ वर्षिय राज कुमार तामाङ रहेका छन ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२–०४८ प. ४५२५ नं. को मोटरसाइकल सहित सूर्यविनायक नगरपालिका–२ बालकोटको बङ्गलामुखी मन्दिरबाट नियन्त्रणमा लिएको हो ।
घटना विवरण अनुसार उनीहरुले गत चैत्र १ गते मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थलीमा बोलाई ओखलढुंगा सिद्धिचरण नगरपालिका ६ घर भई हाल काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३२ वर्षिया हिरुमाया मगरलाई डलर देखाई ३ लाख ५० हजार ठगी गरी फरार भएका थिए ।
मगर गत बैशाख ३ गते प्रहरी वृत्त थिमिमा उजुरी दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो । मगरको उजुरीपछि अनुसन्धान अघि बढाएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा पक्राउ परेका दुवै जना यसअघि पटक पटक विभिन्न अपराधका घटनामा संलग्न देखिएको र मुद्दा समेत चलेको पाईएको प्रनाउ कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार पक्राउ परेका मध्ये सरोज विरुद्ध वि. सं. २०७३ भदौ १२ गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट मुद्दा नं. ६८ मा अभद्र व्यबहार, वि. सं. २०७८ साउन १२ गते प्रहरी वृत्त बानेश्वरबाट मुद्दा नं. १८ मा ठगी, वि. सं. २०७९ चैत्र २३ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. ६८ मा ठगी, वि. सं. २०७९ चैत्र १६ गते प्रहरी वृत्त सातदोबाटोबाट नै मुद्दा नं. २५१ मा ठगी र वि. सं. २०८० बैशाख १५ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. ३२७ मा ठगी मुद्दा चलेको देखिन्छ ।
यसैगरी राज कुमार विरुद्ध वि. सं. २०७५ बैशाख ९ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. १६६ मा सार्वजनिक अपराध, वि. सं. २०७७ आश्विन ११ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट मुद्दा नं. २५ मा ठगी र वि. सं. २०७७ आश्विन १३ गते प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा नं. ९९ मा ठगी मुद्दा चलेको देखिएको कार्कीले बताउनुभयो ।