नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

भक्तपुर, बैशाख १३
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच अस्पतालको मेडिकल उपकरण मर्मत सम्भारको सम्बन्धमा बिहिवार सम्झौता भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र केन्द्रका प्रमुख वैज्ञानिक डा. महाविर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार अस्पतालको सिटि स्क्यान, एक्सरे, ल्यावलगायतका सबै प्रकारका स्वास्थ्य तथा मेडिकल उपकरणहरुको नियमित परिक्षण एवम् मर्मत सम्भार केन्द्रले गर्ने छ ।


सो अवसरमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आविष्कार केन्द्रसँगको सम्झौताले अस्पतालले दिने सेवा थप गुणस्तरीय र विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अस्पतालमा रहेका उपकरणको नियमित परिक्षण र प्राविधिक समस्या आउँदा नीजि क्षेत्रका प्राविधिकहरुद्धारा जाँच गराउनु भन्दा नेपालमा नयाँ नयाँ प्रविधि र उपकरणहरुको आविष्कार गरिरहेको केन्द्रलाई जिम्मेवारी दिँदा आविष्कारको क्षेत्रमा थप योगदान हुने अपेक्षासहित केन्द्रलाई जिम्मेवारी दिएको बताउनुभयो ।


सम्झौतापछि डा. पुनले मध्यपुर थिमि नगरपालिका र अस्पताल व्यवस्थापनले जुन विश्वासका साथ केन्द्रलाई जिम्मेवारी प्रदान गरेको छ, त्यसलाई अक्षुण राखी अस्पतालको सेवा प्रवाहलाई थप गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा डा. पुनःले अस्पतालको निरिक्षण तथा अवलोकन समेत गर्नुभएको थियो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्य, वडा नं. ५ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका सदस्य हरीदास प्रजापति, अस्पतालका कार्यकारी निर्देशक डा. डि. के. रौशन, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, रुपेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।