संघीय व्यवस्थाको बारेमा जनताले प्रश्न गर्न थालेका छन – नेता सिंह

भक्तपुर, बैशाख १२
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् सांसद प्रकाशमान सिंहले लोकतन्त्र, संघीय व्यवस्था र प्राप्त राजनैतिक उपलब्धीको विषयमा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षत्र एवम् नेपाली कांग्रेसका अग्रपंक्तिका नेता स्व. जगन्नाथ आचार्यको १०१ औं जन्म जयन्तीको अवसरमा मंगलवार भक्तपुरको कौशलटारमा आयोजित कार्यक्रममा नेता सिंहले लोकतान्त्रिक संघीय व्यवस्थासहितको संविधान जारी भई दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन भएतापनि आवश्यक ऐन कानूनहरु अझै बन्न नसक्दा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभयो ।
जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा नेता सिंहले भन्नुभयो, केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो ? खोई त ? भन्ने त आइरहेको छ नी । किन त भन्दा हामीले आवश्यक संघीय कानूनहरु समयमा बनाउन नसकेको कारणले हो ।
उहाँले कांग्रेस अहिले प्रतिपक्षमा भएता पनि विधेयक ल्याउन र त्यसमा छलफल गर्न संसदमा अवरोध नगरेको बताउँदैं सहकारीको रकम अपचलन, हिनामिना र ठगीमा संलग्नलाई मन्त्रीमा राख्न हुँदैन भनेर ती मन्त्रीहरुको मात्र विरोध गरेको स्पष्ट पार्नुभयो ।


उहाँले सहकारीका विषयमा कांग्रेसले उठाएको मुद्दाको संसदमा सामना गर्न नसकेर सरकारले संसद अधिवेशन अन्त्य गरेको आरोप समेत लगाउनुभयो । उहाँले लगानी सम्मेलनमा आउने लगानीकर्ताको आकर्षण र सहजताको लागि अध्यादेश मार्फत ऐन संशोसन गर्नुभन्दा संसदबाट विधिसम्वत तरिकाले संशोधन गरेको भए लगानीकर्ताहरु थप उत्साहीत हुने बताउनुभयो ।
उहाँले पार्टीभित्र कमीकमजोरी भइरहेको अवस्थामा सबै तहका नेताहरुले सो विषयमा बोल्नुपर्छ भन्ने सन्देश स्व. आचार्यको जीवनले दिने बताउनुभयो । उहाँले अधिकारको लागि लामो संघर्ष गर्ने नेताहरु अधिकार प्राप्तीपछि त्यसलाई संरक्षण र सुदुपयोग गर्नेक्रममा बाटो बिराउन थाले नेता कार्यकर्ताहरुले खबरदारी गर्नुपर्ने खाँचो औंलउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले स्व. आचार्य हक्की र निडर नेता भएको चर्चा गर्दै तत्कालीन शक्तिशाली पार्टी नेता गिरिजा प्रसाद कोइरालासँग समेत मतभेद राख्न सक्नु उहाँको विषेशता भएको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले स्व. आचार्य क्रान्तिकारी, जुझारु र सशक्त नेता भएको स्मरण गर्नुभयो ।
बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले स्व. आचार्यले बनाएको कांग्रेसको धरातल र आधारको जगमा उभिएर नै अहिले भक्तपुरका कांग्रेस बलियो राजनैतिक शक्ति बनेको बताउनुभयो ।


नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले २०४६ सालको जनआन्दोलनमा काठमाण्डौं उपत्यकाको कमाण्डर रहेका स्व. आचार्यको राजनैतिक जीवनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने र उहाँको शालिक स्थापना गरेर नयाँ पुस्तालाई उहाँको जीवनीका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले लोकतन्त्र र जनताको अधिकार रक्षाका लागि स्व. आचार्यको सिद्धान्तलाई मार्ग निर्देशनको रुपमा अंगिकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक शक्तिहरु एकजुट हुन आवश्यक भएको बताउँदैं स्व. आचार्यलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्व. आचार्यका राजनैतिक सहकर्मी नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवम् पूर्व सांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानीत लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुरका अग्रज नेता रामप्रसाद दवाडी, नेपाली कांग्रेस मध्यपुर थिमि ३ नं. वडा सभापति कृष्णहरी आचार्यलगायतले स्व. आचार्यको राजनैतिक जीवन र उहाँले भूमिसुधारका विषयमा गरेका सुधारका कार्यको चर्चा गर्नुभएको थियो ।