मध्यपुर थिमिमा डेंगु नियन्त्रण अभियान शुरु

भक्तपुर, भाद्र २२
मध्यपुर थिमि नगरपालिकाले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियानका साथै सचेतना कार्यक्रम शुरु गरेको छ । देशका विभिन्न जिल्लाहरुसँगै भक्तपुरमा पनि डेंगु संक्रमण तिब्र रुपमा बढ्न थालेपछि नगरपालिकाले लार्भा नष्ट अभियानका साथै सचेतना कार्यक्रम शुरु गरेको हो ।
नगरपालिकाले मातहतका हेल्थपोष्ट र शहरी स्वास्थ्य क्लिनिकमार्फत वडा वडामा डेंगु रोग सर्ने माध्यम, यसको लक्षण र रोकथामका उपायसहितको पर्चा वितरण, डेंगु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै सरफाईमा ध्यान दिन सर्वसाधारणलाई आग्रहसहितको सचेतना कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । अभियान अन्तर्गत डेंगु नियन्त्रणका लागि लामखुट्टे विषादी समेत छर्कने छ ।


डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । कालो र मसिनो आकारको यो लामखुट्टेको खुट्टा सेतो र कालो मिसिएको छिर्केमिर्के रङको हुन्छ । रातीभन्दा बढी बिहान बेलुका यो लामखुट्टे सक्रिय हुने गर्दछ । विशेष गरी घाम उदाएको दुई घण्टा पछि र घाम अस्ताउनु दुई घण्टा अघि यो लामखुट्टे बढी सक्रिय हुने गर्दछ ।
एडिस एजिप्टाई लामखुट्टेले सानो सानो भाँडामा जमेको सफा पानीमा फुल पार्ने गर्दछ । त्यसैले घर वरिपरि पानी जम्ने स–साना वस्तु तथा भाँडाहरु जस्तै गमला वरिपरिको प्लेट, चिया खाएर फालिएका गिलास, फालिएका टायर, टिनका डब्बा, प्लाष्टिकका बोटल, प्लाष्टिकका खोल, बाल्टिन, कुलर, फुलदानी, ढल, नाली, कूलोमा जमेका पानीका साथै झारपात सरसफाई गर्नुपर्ने विज्ञहरुले बताएका छन ।