यमःद्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा शुरु

फाइल तस्विर

लक्ष्मी गारु, भक्तपुर, भदौ २२
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा आज (बुधवार)बाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्धादशीको दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर जात्रा शुरु गरिन्छ ।
भक्तपुरको ईन्द्रजात्रामा स्थानिय गुठीयारले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोल टोलमा विधिवत पूजाआजा सहित नगरका ईताछें., तेखापुखुः, मुलाखःु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानहरुमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शुन्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।
जात्राको तेस्रो दिन अर्थात इन्द्र जात्राको दिन साँझ खौमास्थित ईन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा ईन्द्रायणी देवीलाई सिंङ्गारपटार गरी विधिवत पुजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानिय महिलाहरु हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु ढुप दिप बालेर सिद्धपोखरीले परिचित ईन्द्र दहको दक्षिण दिशाको बिचमा ल्याई विराजमान गराईन्छ । जात्राको क्रममा राती पालाको दिप बालेर दहलाई सजाईन्छ । यस दिन राती दहमा मेला लाग्छ । मध्यराती तान्त्रिक पुजा गरी ईन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।
जात्राको चौथौ दिन यन्या पुन्ही(भाद्र शुक्ल पुर्णिमा)को अवसरमा धार्मिक तीर्थस्थलको रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी ईन्द्रायणी देवीको पुजाआजा गर्ने भक्तजनहरु ठूलो घुइँलो लाग्ने गर्छ । देवराज ईन्द्रले स्नान गरेको दह हुनाले यस दिन ईन्द्र दहमा स्नान गरी ईन्द्रायणी देवीको पुजा आराधना गरेमा पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन ईन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालिन र मल्लकालिन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु तथा वासुकी नागको समेत पुजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाई पिउने परम्परा छ । राती ईन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमा स्थित देवगृहमा ल्याई विधिवत पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौ दिनलाई पनि शून्य मानिन्छ ।
जात्राको छैठौ दिनदेखी तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशुल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगतै तचपालको सँला गणेशलाई विधिवत पुजा गरी खटमा राखी राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमाहरुमा परिक्रमा गराइन्छ ।

फाइल तस्विर

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई जना सहायक सहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई शहर परिक्रमा गराउने प्रचलन छ । शहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीन पटक घुमेर तरवारले हान्ने गरिन्छ ।
जात्राको सातौ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा शुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडी गई जात्रा गर्छ । लगतै भक्तपुरको दरवार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।
जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी(तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । शुरुमा तल्लो टोलहरु तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुंगेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडी तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नु पुर्व गुठी संस्थानबाट भैरवलाई विधिवत रुपमा बली पुजा गरिन्छ ।
भैरवको खट जात्रा गरेपछि स्थानिय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपाडाले छोपेर अगाडीको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा शुरु गरिन्छ । जात्रा शुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा शुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याईन्छ भने एक जनाले पुलुकिसी भित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
देवराज ईन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोहरुमा धान खुवाउने, टौमढी र दरवार स्क्वायरको डबलीमा आगो तपाउने, सूजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थ अनुसार पुलुकिसी जात्रा देवराज ईन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाएको हो ।
जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा शुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।
ईन्द्रजात्रा द्धापरयुगदेखि सञ्चालन भएता पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
लोककथन अनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो प¥यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोवाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको प्रा. डा. श्रेष्ठ बताउँछन् ।
भक्तपुरमा ईन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपती आईनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा.डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ ।