अन्तर वडा टेबलटेनिसको महिला टिम इभेन्टमा गोदावरी १ लाई उपाधि

भक्तपुर, भाद्र २२
दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा महिला टिम इभेन्टको उपाधि गोदावरी नगरपालिका वडा नं. १ ले जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको बुधवार सम्पन्न महिला टिम इभेन्टको फाइनलमा गोदावरी नगरपालिका वडा नं. १ ले भक्तपुर नगरपालिका वडा नं. २ लाई पराजित गर्दै उपाधि जितेको हो ।
स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा गोदावरी १ ले भक्तपुर २ लाई ३–२ सेटले पराजित गरी उपाधि जितेको हो । यो इभेन्टमा भक्तपुर ५ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए ।
भेट्रान ६० वर्षमाथि ललितपुर १२ का शरदमान श्रेष्ठ च्याम्पियन बने । फाइनलमा शरदले काठमाण्डौं महानगरपालिका २९ का उदयमोहन श्रेष्ठलाई १४–१२, ११–३, ६–११ र १२–१० को सेटमा हराए । ललितपुर १९ का जगदीश्वरप्रसाद जोशी र ललितपुर २२ का रोशन प्रधान तेश्रो बने ।