बंगलादेशी साहित्यकारको टोली भक्तपुरमा

भक्तपुर, भाद्र २२
बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वको बंगलादेशका वरिष्ठ साहित्यकारहरुको प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधवार भेटवार्ता गरेको छ ।
भेटमा प्रमुख प्रजापतिले बंगलादेश र नेपाल भौगोलिक र सांस्कृतिक समानता भएको देश भएको बताउँदैं दुई देशबीचको अनुभव आदानप्रदानले दुई देशबीचका जनताबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
बंगलादेशले धेरै नेपाली विद्यार्थीहरुलाई चिकित्सा शिक्षा र अन्य विषयहरुमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताउँदैं उहाँले नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने आवश्यक तयारीहरु गरिरहेको अवगत गराउनुभयो । उहाँले साहित्यकारहरुले साहित्यमार्फत समाजको निम्ति योगदान गर्ने बताउँदैं बंगलादेशका उत्कृष्ट साहित्यहरु नेपालीमा अनुवाद गर्ने चाहना व्यक्त गर्नुभयो ।


त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको संक्षिप्त परिचयबारे प्रस्तुतीकरण गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, कला संस्कृति संरक्षणलगायतका सबै क्षेत्रहरुको सन्तुलित विकास गरेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकालाई ज्ञान विज्ञानको केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले अगाडि बढिरहेको बताउनुभयो ।
प्रतिनिधि मण्डलका नेता अहमदले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गरिरहेको काम निकै प्रशंसनीय रहेको र भक्तपुरको भ्रमण गर्ने अवसर र न्यानो स्वागतको लागि धन्यवाद दिनुभयो । उहाँले नगरपालिका सबै क्षेत्रको सन्तुलित विकासका ािथ अघि बढीरहेको पाएको बताउनुभयो ।


सो अवसरमा संघका महासचिव सल्लाउद्धिन कुटुकवि, कवि तथा उपन्यासकार डा. अन्वारा सइद हक, कवि तथा साहित्यकारहरू प्रा.डा. दिलारा हाफिज, प्रा. शेली सेन गुप्ता, मोहम्मद मोसिउर रहमान र प्रसिद्ध गायक काजलकुमार मुखर्जीको उपस्थिति रहेको थियो भने नेपाली साहित्यकारहरु प्रतिक ढकाल, रामप्रसाद पन्त, शंकर भट्टराई, पवन आलोकलगायतको पनि उपस्थिति थियो ।
भेटपश्चात नगर प्रमुख प्रजापति सहितको टोलीले प्रतिनिधि मण्डललाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरुको अवलोकन गराएको थियो ।