नगरप्रमुख श्रेष्ठद्धारा मनोहरा जग्गा एकिकरण आयोजनाको अवलोकन

भक्तपुर, भाद्र २२
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बुधवार मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गर्नुभएको छ । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय गर्ने, अनधिकृतरुपमा संरचना निर्माण गरी व्यवसाय गर्ने प्रवृत्ति बढेको जनगुनासो आएपछि नगरप्रमुख श्रेष्ठले सो क्षेत्रको अवलोकन तथा अनुगमन गर्नुभएको हो ।


अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले वि पि पार्कसँगैको ६ मिटर बाटो, मनोहरा करिडोरको ११ मिटर सडक, सनातन मनोहरा घाट, हनुमान मन्दिर परिसर र सामुदायिक भवन, करिडोरको हरियाली क्षेत्र, मनोरम ज्येष्ठ नागरिक पार्क, अरनिको राजमार्ग –खानेपानी आयोजना – खरिबोट सडकको अवलोकन गर्नुभएको थियो ।
अनुगमनपछि नगरप्रमुख श्रेष्ठले नक्सा पास नगरी निर्माण गरेका संरचनालाई कानुनी दायरामा ल्याउने, व्यवसाय दर्ता अभियान सञ्चालन गर्नुपर्ने, मनोहरा करिडोरमा सडक अतिक्रमण सञ्चालन भएका व्यवसायलाई हटाउनुपर्ने, पार्कलाई खुल्ला गरी सर्वसाधरणको पहुँचमा पुर्याउने, घाट व्यवस्थापन गरी करिडोरको काम सम्पन्न गर्नुपर्ने खाँचो देखिएको बताउनुभयो ।


नगरप्रमुख श्रेष्ठलाई आयोजनाको अरनिको राजमार्ग दक्षिणतर्फको सहयोग समितिका संयोजक जगतकृष्ण प्रजापतिले आयोजना क्षेत्रको वस्तुस्थितीका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोल, पुर्व वडाअध्यक्ष सुरज खड्का, नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं.१ इकाई सभापति विजयकृष्ण खड्का, सचिव सुरेश बस्नेत, कोषाध्यक्ष बिकु कुमाल, सदस्य राजेन्द्र कार्की, मनोहरा जग्गा एकिकरण आयोजनाका साईट ईन्चार्ज सिद्धिकृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिती रहेको थियो ।