तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

भक्तपुर, माघ २०
प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत आग्रह गरेको छ ।

काउन्सिलले आज (बिहिवार) एक विज्ञप्तिमार्फत तथ्यगत पुष्ट्याइँ नभइ, अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेको हो ।

प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चार माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने व्यवस्था छ ।
विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको छ । यसरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भइ एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
तथ्यगत पुष्टी बेगर समाचार सम्प्रेषण गर्ने उक्त समाचार संस्था र प्रकाशन गर्ने अनलाइनहरूलाई काउन्सिलले स्पष्टीकरणसमेत सोधेको छ ।