नक्कली पिसिआर रिपोर्टसहित गठ्ठाघरको नागरिक र तिनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ, दुवै ल्यावमा शिलबन्दी

भक्तपुर, माघ १९
नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका दुई जना र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का दुई जना गरी चार जना ल्याव कर्मचारीहरुलाई पक्राउ गरेको छ । साथै दुवै अस्पतालको ल्यावलाई शिलबन्दी गरिएको छ ।
पक्राउ पर्नेहरुमा धनुषा बिदेह नगरपालिका–४ घर भई हाल ललितपुर ग्वार्को बसी नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलको ल्यावमा कार्यरत २५ वर्षिय रोशन कुमार छिट्टान, सर्लाही बलरा नगरपालिका–७ घर भई हाल भक्तपुर कौशलटार बस्ने नागरिक हस्पिटलका ल्याब प्रबन्धक २४ वर्षिय प्रसन्न कुमार झा रहेका छन ।
त्यस्तै पक्राउ पर्नेहरुमा धनुषा छिरेश्वर नगरपालिका–१ घर भई हाल काठमाण्डौं गौशाला बस्ने कान्तिपुर अस्पतालको ल्यावमा कार्यरत २५ वर्षिय नागेन्द्र यादव र काभ्रेपलान्चोक तेमाल गाउँपालिका–५ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका–५, सल्लाघारी बस्ने कान्तिपुर अस्पतालको ल्यावमा कार्यरत २९ वर्षिय माधव मैनाली छन ।


बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नागरिक र कान्तिपुरले नेपाल सरकारले तोकिएको भन्दा अत्याधिक बढी शुल्क लिई स्वाबको नमूना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाई दिने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाको टोलीले अनुसन्धान गर्ने क्रममा मंगलवार बिहान नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई सोही अस्पतालबाट जारी ८ थान नक्कली पिसिआर रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
छिट्टानलाई साथमा लिई महाशाखाको प्रहरी टोली गठ्ठाघरस्थित नागरिक अस्पताल पुग्दा उक्त अस्पतालका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको महाखाशाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
यसैगरी महाशाखाको टोलीले काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचयपत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडिबाट पक्राउ गरेको छ ।
प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा कान्तिपुर अस्पतालका ल्याव कर्मचारी माधव मैनालीलाई समेत ४ थान नक्कली पिसिआर रिपोर्टसहित ल्यावबाटै पक्राउ गरेको एसपी कोइरालाले बताउनुभयो ।
प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिई ल्यावमा शिलबन्दी गरिएको एसपी कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउन संलग्न रौतहट राजदेवी नगरपालिका–४, बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको ल्याव सञ्चालक ४० वर्षिय भावेश मिश्र, काठमाण्डौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को ल्याव सञ्चालक ४० वर्षिय निर्मल गिरी र पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको जनाएको छ ।
अनुसन्धानको क्रममा उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, उक्त ल्याबहरुमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरि रिपोर्ट दिने गरेको, पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको सिटि भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको एसपी कोइरालाले बताउनुभयो ।
यसैगरी ती दुवै अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत अनुसन्धानमा खुल्न आएको छ ।
बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रति व्यक्ति १० हजार रुपैंयाँ सम्म असुल्ने गरेको अनुसन्धानमा खुलेको एसपी कोइरालाले बताउनुभयो । सो बारेमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।