दक्षिण कोरिया पनि विश्वकपमा छनोट, जापान छनोटको नजिक

भक्तपुर, माघ १९
दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । दक्षिण कोरियाले मंगलवार राती दुवईमा सम्पन्न छनोट खेलमा सिरियालाई २–० गोल अन्तरले हराउँदै विश्वकपको टिकट काटेको हो । दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक÷एक गोल गरे ।
खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई २–० को जित दिलाए ।
जितसँगै समूह ए मा रहेको दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ । यस समूह इरान २२ अंकका साथ शिर्ष स्थानमा रहेको छ । उसले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ । समूहका दुई चरणका खेल बाँकी रहँदा तेस्रो स्थानमा रहेको युएईको ९ अंक रहेको छ । इरानले युएईलाई १–० ले पराजित गरेसँगै दक्षिण कोरिया विश्वकपका लागि सिधै छनोट भएको हो ।
दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ । दक्षिण कोरिया लगातार १० औं पटक विश्वकपका लागि छनोट भएको हो । सन् १९८६ को विश्वकपमा पहिलो पटक छनोट भएको दक्षिण कोरिया त्यसयता लगातार छनोट हुँदै आएको छ । सन् २००२ मा जापानसँग मिलेर विश्वकप आयोजना गरेको दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश गरेको थियो ।
यसैगरी जापान पनि विश्वकप छनोटको नजिक पुगेको छ । मंगलवार राती जापानको उत्तरी शहर साइतामामा सम्पन्न समूह बी को छनोट खेलमा शिर्ष स्थानमा रहेको साउदी अरेबियालाई २–० ले पराजित गर्दै जापान छनोटको नजिक पुगेको हो ।
जापानका लागि लिभरपुलका फरवार्ड ताकुमी मिनामिनो र जुन्या ईटोले गोल गरे । समूहमा दुई चरणको खेल बाँकी छँदा साउदी अरेबिया १९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने जापान १८ अंकसहित दोस्रो र १४ अंक बटुलेको अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । जापानले मार्च २४ मा सिड्नीमा अष्ट्रेलिया विरुद्ध खेल्दै छ भने अन्तिम खेल भियतनामसँग घरेलु मैदानमा खेल्ने छ ।