तनावपूर्ण खेलमा नेपाल मोरिससविरुद्ध १–० ले विजयी

भक्तपुर, माघ १८
नेपालले तनावपुर्ण खेलमा मोरिससलाई १–० गोलले पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा मंगलवार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुजल श्रेष्ठको गोल मद्दतले मोरिससलाई १–० ले पराजित गरेको हो ।
सुजलले खेलको १० औं मिनेटमा गोल गरेका थिए । नविन गुरुङले प्रहार गरेको कर्नरमा मोरिससका गोलरक्षक लोइक मिचेलले पञ्च गरेर क्लियर गर्दा रिवाउण्ड भएर आएको बललाई डि बक्स बाहिरबाट आशिष लामाले प्रहार गरे । सो बललाई पुजन उपरकोटीले व्याक पास मिलाए र सुजलले वन टचमा बललाई जाली चुमाए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।
लगत्तै मोरिससले बराबरी गर्ने सुवर्ण अवसर पाए । नेपालका दिनेश राजवंशीले मोरिससका कप्तान एण्डी सोफीलाई डि बक्समा लडाएपछि मोरिससले पेनाल्टीको अवसर पाए । मोरिससको पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेम्जोङले दाँयातर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । रिबाउण्ड भएर आएको बललाई एरिक बिष्टले क्लियर गरेर नेपालको संकट टारे गरेका थिए ।
यसअघि खेलको छैटौ मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टमाथिबाट आकासियो भने सातौ मिनेटमा मोरिससका लिन्स्ले ब्रासीको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३६औं मिनेटमा तेज तामाङको झन्डै ३० यार्ड टाढाको सशक्त प्रहार पहिलो बार च्याप्दै बाहिरियो । खेलको ४०औं मिनेटमा गोलरक्षक किरण पोजिसनमा नरहेको अवस्थामा एड्रियन बोट्लरको प्रहार पोस्टमाथिबाट बाहिरिदा मोरिसस बराबरीबाट चुक्यो ।
५१औं मिनेटमा भासिस्ट कुलकुट्टाको पेनाल्टी बक्सबाहिरको भली प्रहार गोलरक्ष किरणले मुस्किलले नियन्त्रणमा लिए । ६२औं मिनेटमा सुजल श्रेष्ठको फ्रिकिकमा मनिष डाँगीको टच पोस्ट नजिकैबाट थोरै बाहिरियो । ६८ औं मिनेटमा मरिससका कप्तान एन्डीले पेनाल्टी क्षेत्रको एजबाट प्रहार गरेको बल नेपालका गोलकिपर किरणले मुश्किलले बचाए ।
खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मोरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए । नेपालका सहायक प्रशिक्षक बिकास मल्ललाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए ।
७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए । यस्तै खेलको इन्जुरी समयमा अन्जन विष्टले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल मरिससका गोलकिपरले उत्कृष्ट बचाऊ गरेपछि नेपाल अग्रता दोब्बर बनाउन चुकेको थियो ।
तनावपूर्ण खेलमा कार्डको वर्षा
मैत्रीपूर्ण खेल भए पनि नेपाल मोरिससबीचको दोस्रो खेल तनावपूर्ण हुँदा खेलमा कार्डको वर्षा भएको छ । खेलमा चार रातो र ६ पहेँलो कार्ड प्रयोग भए । पहिलो हाफको खेल सौहार्दपूर्ण रहे पनि दोस्रो हाफको १५ मिनेटमा स्थिति तनावपूर्ण बनेको थियो । खेलमा दुवै टोलीका खेलाडी घम्साघम्सीमा उत्रेका थिए । खेलाडीहरुको झगडा मिलाउन नेपाली टोलीका अफिसियल समेत मैदान प्रवेश गरेका थिए । नेपालका दुई र मोरिससका ४ खेलाडीले पहेंलो कार्ड पाए ।
मोरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड पाए । नेपाली टोलीका गोलकिपर कोच विकास मल्लले पनि रातो कार्ड पाए । उनी खेलाडीको झगडाबीच मैदान प्रवेश गरेका थिए ।
दशरथ रंगशालाको फ्लड लाइटमा समस्या आएका कारण पनि खेल झण्डै ८ मिनेट रोकिएको थियो । खेलको निर्धारित समय सकिए लगत्तै रंगशालाको लाईटमा समस्या आएको थियो । रेफ्रिले खराव प्रकाशका कारण खेल रोके ।
खेलमा नेपाली गोलकिपर एवम् कप्तान किरण चेम्जोङ खेलको म्यान अफ दि म्याच चुनिए । उनले मोरिससको पेनाल्टी रोक्नुका साथै केही अवसरमा उत्कृष्ट बचाउ गर्दै नेपाललाई जित दिलाएका थिए ।