जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बार अनुसार आलोपालो सेवा प्रवाह हुने

भक्तपुर, माघ १८
कोरोना संक्रमण दरमा केही कमी आएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोकिएको सेवा पुनः सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंगलवार एक सूचना जारी गर्दै माघ २० गते बिहिवारदेखी नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, सिफारिशलगायतका नियमित सेवा सूचारु हुने जनाएको हो । त्यसका लागि आलोपालो तालिका प्रकाशन गरेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत उर्मिला खतिवडाले जारी गरेको सूचना अनुसार आइतबार, मंगलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्नेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइनेछ ।
कोभिड १९ को नयाँ भेरियन्ट सहितको ओमिक्रोन संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत माघ ५ गतेबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, सिफारिशलगायतका नियमित सेवा स्थगित गरेको थियो ।