मिनि ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

भक्तपुर, माघ २०
चाँगुनारायण नगरपालिकाको खरिपाटीमा बिहिवार दिउँसो टाटा मिनि ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा. ५ ख. १६२५ नं. को टाटा मिनि ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकाली बस्ने २४ वर्षिय संजोग गिरी रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । गिरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न मिनि ट्रकका चालक सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका नाकुचे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षिय राम आचार्य र मिनि ट्रक महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।