भक्तपुर बहुमुखीमा नेविसंघका पुकार विजयी

भक्तपुर, चैत्र ६
भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)नेतृत्वको प्यानल विजयी भएको छ । स्ववियुको आइतवार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार १६७ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकतम प्रतिष्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ)का दिनेश खड्गीले ७६१ मत प्राप्त गर्नुभयो ।
स्ववियुको सचिवमा यादव दुलाल ११४६, कोषाध्यक्षमा सुजन प्रधान ११७६ विजयी हुनुभयो । सदस्यहरुमा संयुक्त प्यानलका अस्मिता खनाल १२६९, निमेश नायभा १२२३, सजगकृष्ण पोखरेल ११८३, निरज कार्की १२९१, नवराज सिंह धामी १२५२, धिराज खड्का १२७०, सजना हुमागाईं १२६१ र तिलक पराजुली १२६२ मतका साथ विजयी हुनुभयो ।
यसैगरी समानुपातिकतर्फ नेविसंघले ७६४, नेक्राविसंघले ५१६, अनेरास्ववियुले ३५३ र अखिल क्रान्तिकारीले २७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. शेर सिंह रैखोलाले बताउनुभयो ।
यस्तै सानो थिमि शिक्षा क्याम्पस सानोथिमिको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रेशमलाल श्रेष्ठ विजयी हुनुभएको छ ।