मध्यपुर थिमिमा घर नक्सा नियमित गर्ने प्रक्रिया शुरु

भक्तपुर, चैत्र ६
मध्यपुर थिमि नगरपालिकाले घर नक्सा नियमित गर्ने प्रक्रिया शुरु गरेको छ । नगरभित्र नक्सा पास नगरी निर्माण भएका र नक्सा पास गरेको तर निर्माण गर्दा हेरफेर भएका घरहरुको नक्सा पास, नियमित, घरनक्सा अभिलेखीकरण र निर्माण सम्पन्न गर्ने प्रयोजनको प्रक्रिया शुरु गरेको हो ।
नगरपालिकाले चैत्र १ गते सार्वजनिक सूचना जारी गरी त्यस्ता घरधनीहरुले नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माणसम्बन्धी विनियमावली (मापदण्ड) २०५७, (दोस्रो संशोधन २०७९) को विनियम ५६ बमोजिम सूचना प्रकाशन भएको मितिले ६० दिनभित्र इबिपिएस मार्फत नक्सा सहित आवेदन दिई घरनक्सा नियमित गर्न आग्रह गरेको हो ।
यो सुविधा २०७७ फागुन १७ गते गोरखापत्र दैनिकमा प्रकाशित सार्वजनिक सूचनाअनुसार रोक्का भएका क्षेत्र र साविकमा नक्सापास नभएका सुरक्षित क्षेत्र बाहेकका क्षेत्रमा लागु हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले नगरभित्र बनेका घरनक्सा नियमित गर्न भौतिक पूर्वाधार विकास तथा निर्माणसम्बन्धी विनियमावली (मापदण्ड) २०५७, (दोस्रो संशोधन २०७९) स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको र सो विनियमावली नगरपालिकाको वेभसाईटमा पनि राखिएको जानकारी दिँदैं नगरवासीले यसबाट लाभ लिने र विगतमा नक्सा पास र निर्माण सम्पन्न लिन नसकेर समस्यामा रहेका नगरवासीको समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिकाले जग्गा एकिकरण आयोजनामार्फत व्यवस्थित बसोबास विकास गर्ने उद्देश्य र साविकमा नक्सा पास रोक्का राखेर सुरक्षित क्षेत्र घोषणा गरेका क्षेत्रमा बनेका घरहरुको हकमा भने आगामी नगरसभाले निर्णय गर्ने बताउनुभयो । विगतमा नगरसभाले निर्णय गरेर रोक्का राखेको क्षेत्र भएकाले अब पनि नगरसभाले नै निर्णय गर्नुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले त्यस्ता क्षेत्रमा नगरपालिकाले जग्गा एकिकरण आयोजना लागुगरी निर्माण फुक्का गर्ने नीति लिएको र यसको लागि हालै कार्यपालिकाले प्रस्तावित जग्गा विकास आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
“प्रारम्भिक सम्भाव्यता अध्ययनले जग्गा एकिकरण आयोजना लागु गर्न सकिने नसकिने प्रतिवेदन आउँछ । जहाँ सम्भव छ त्यहाँ आयोजना लागु गर्दै जाने र जहाँ सम्भव छैन त्यस्ता क्षेत्रमा घरनक्सा खुल्ला गर्ने नीति लिएर अघि बढ्ने नगरपालिकाको योजना छ,” उहाँले भन्नुभयो, “असारमसान्तसम्म सम्भाव्यता अध्ययन प्रतिवेदन आइसक्ने र त्यसको आधारमा आगामी नगरसभाले निर्णय गर्छ ।”