तिहारको तेस्रो दिन आज गाई पुजा गर्दै

भक्तपुर, कार्तिक ८
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज गाईको पुजा गरी मनाईंदैछ । तिहारको कार्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतिक स्वरुप गाईको पुजा गर्ने परम्परा रहेको छ ।
औँसीका दिन बिहान विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि छ र तर यसवर्ष तिथिको घटबढ र सूर्य ग्रहणका कारण हिजो सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ ।
सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो । मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णयक विकास समितिले जनाएको छ ।
गाईको दुधलाई अमृत समान लिईन्छ । गाईको दुधमा आमाको दुधमा जस्तै पोषणा तत्व रहने विश्वास गरिन्छ । गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ । देवकार्य वा पितृकार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन । कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ ।
लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास छ ।
औंसीको साँझ देउसी भैलो खेल्ने प्रचलन पनि रहेको छ । गाउँघर, शहर बजारका युवा युवतीहरु समूहमा मिलेर साँझ देउसी भैलो खेली रमाइलो गर्ने र यसरी देउसी भैलो खेली संकलन भएको दान दक्षिणा सामाजिक कार्यमा उपयोग गर्ने पनि गरिन्छ ।