एक महिने गुँलापर्व आजबाट शुरु

भक्तपुर, साउन ३२
एक महिने गुँला पर्व आजदेखी शुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाईने गर्दछ । यो पर्व यसवर्ष साउन ३२ गतेदेखी भाद्र ३० गतेसम्म मनाईने छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवतको नवौं महिनामा मनाईने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ ।
गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भएता पनि यसपर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गरेको छ । गुँला पर्वको अवसरमा नगरका बहाः, बही, चैत्य लगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
गुँला पर्वमा बौद्धमार्गीहरु विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोक लगायतका उपत्यकाका विभिन्न चैत्यहरुको समेत परिक्रमा गर्ने गर्दछन् । काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।
गुँला पर्वको प्रमुख विशेषता धाः, न्याकुँ र चती बाजा बजाउनु हो । यो बाजा राँगा र भेडाको सिङबाट निर्माण गरिएको हुन्छ । विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट न्याकुँ बाजा तयार गरिन्छ भने चती बाजा भेँडाको सिङबाट निर्माण गरिन्छ ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजा सहित गुँला पर्व मनाउने प्रचलनमा बृद्धि भएको छ, जसअनुसार बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भिमसेन, भैरव र अष्टमाट्रिका लगायतका देवी देवताहरुको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्वी बाहेकका समुदाय समेत गुँला पर्वको अवसरमा चैत्यहरुको परिक्रमा गर्न जान थालेका छन ।
यसैबीच यसवर्ष पहिलो पटक मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञानमाला भजन खलःले गुँला यात्रा निकालिएको छ । भजन खलःका गुँला पर्वको अवसरमा भदौ ४ गते सोमवार चाँगुनारायण, भदौ ६ गते बुधवार साँखु बज्रयोगिनी, भदौ १३ गते बुधवार काभ्रेपलाञ्चोकको नमो बुद्ध, भदौ २० गते बुधवार बाडेगाउँ, भदौ २७ गते बुधवार ललितपुरको जलविनायक र कार्यविनायक र अन्तिम दिन भदौ ३० गते शनिवार स्वम्भु महाचैत्यको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसका साथै दैनिकरुपमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीका विभिन्न मठ मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ ।