मध्यपुर थिमि नगरपालिकाले २६४ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भक्तपुर, साउन ३२
मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट संकलन गरी कक्षा नर्सरीदेखी कक्षा ९ सम्मको छात्रवृत्ति वितरण गरेको हो ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्रका नीजि विद्यालयहरुमा गरिव, जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न र शिक्षाको गुणस्तर बृद्धिका लागि नीजि विद्यालयहरुको संगठन प्याव्सनसँग सहकार्य गर्दै आएको छ । सोही अनुसार नगरपालिकाले नगरभित्रका ४० वटा विद्यालयमा २६४ विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
नगरशिक्षा समितिले छात्रवृत्तिका लागि खुल्ला आवेदन माग गरेको र प्राप्त आवेदनमा आवश्यक छानविनका साथै अन्तरवार्ताको माध्यमबाट विद्यार्थीहरुको छनोट गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुको नामावली र छात्रवृत्ति दिने विद्यालयको नामावली नगरपालिकाको वेभसाईटमा प्रकाशित गरिएको छ ।