जग्गाको कित्ताकाट खुला गर्ने निर्णयको नेपाल जग्गा तथा आवास विकास महासंघद्धारा स्वागत

भक्तपुर, साउन ३१
नेपाल जग्गा तथा आवास विकास महासंघले भू–उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी जग्गाको कित्ताकाट पूर्णरुपमा खुला गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । महासंघले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै जग्गाको कित्ताकाट खोल्ने निर्णयको स्वागत गरेको हो ।
महासंघले देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको वर्तमान परिप्रेक्ष्यमा कित्ताकाट खुलेबाट घरजग्गा क्षेत्रको कारोबार सहज भई मुलुकको अर्थतन्त्र चलायमान बन्ने छ भन्ने अपक्षा गरेको जनाएको छ ।
‘भू–उपयोग नियमावली, २०७९ मा भएको पहिलो संशोधनबाट नेपालको रियल इस्टेट व्यवसायीका साथै सर्वसाधारण जनता समेतले सहजरुपमा कित्ताकाट गर्न पाउने भई अन्ततः यसबाट घरजग्गाको खरिद बिक्रीमा पारदर्शीता कायम गर्नमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं । यसका साथै हामी सरकारसँग भूमि सम्बन्धी एकीकृत ऐन र शहरी विकास ऐन समेत जारी गरियोस् भन्ने आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै, घरजग्गा व्यवसायलाई मर्यादित, व्यवसायिक, स्वच्छ एवं पारदर्शी बनाउँदै जग्गा तथा आवास विकास मार्फत् देशको अर्थतन्त्रलाई योगदान पुर्याउने लक्ष्यका साथ महासंघ व्यवस्थित शहरीकरण र जग्गा तथा आवास विकास लगायतका विषयहरुमा सबै सरकारी निकायहरुसँग सहयोग, समन्वय एवं सहकार्य कायम राख्दै मुलकको अर्थतन्त्रलाई सबल बनाउन सदा तत्पर रहेको समेत जनाएको छ ।