क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

भक्तपुर, असार १८
क्षयरोगको शंका लागेपनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाईएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत वडा स्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागेपनि लक्षण नदेखिएको भन्दै परिवारले नै शंकास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो ।
क्षयरोग मुक्त घोषणा अभियान अन्र्तगत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरको वडा नं. ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधी सेवन गराउन नमान्ने गरेको बताउनुभयो ।
उहाँले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग संक्रमण देखिएको बताउँदैं त्वायनाले नगरमा अत्याधिकरुपमा क्षयरोगी लुकेर बसेको आशंका व्यक्त गर्नुभयो । उहाँले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको संख्या ६५८ रहेको जानकारी दिनुभयो । जसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको संख्या ५७ दशमलव २ प्रतिशत र फोक्सो बाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको संख्या ४२ दशमलव ८ प्रतिशत रहेको मिजारले बताउनुभयो ।


उहाँले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोग मुक्त अभियान स्वयंसेवकहरुलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामुलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ्ग क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समुहका वस्तीका घरदैलोमा गई स्क्रिनिङ्ग कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार संकलन तथा ढुवानी वा संभावित बिरामी प्रेषण लगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले सरकारी लक्ष्य प्राप्तीका लागि अहिलेको अभियानलाई तिव्रता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले क्षयरोग मुक्त अभियानलाई सुक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदैं अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखालगायतका प्रतिनिधिहरुले कुनै पनि बिरामीको पहिलो गन्तव्य नीजि फार्मेसी तथा मेडिकलपनि भएकाले क्षयरोगको स्क्रिनिङ्गमा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए ।