नेकपामा फर्किनुको विकल्प छैन – प्रचण्ड

भक्तपुर, असार १७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपामा फर्किनुको विकल्प नभएको बताउनुभएको छ । मध्यपुर थिमिमा आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेता स्व. नारायण विलास जोशीको पूर्ण कदको प्रतिमा अनावरण र नारायण विलास स्मृति प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेसँग पार्टी एकिकरण गरी निर्माण भएको नेकपा विघटन भएपनि पुनः नेकपामा फर्किनुको विकल्प नभएको बताउनुभएको हो ।
उहाँले हालै सत्तारुढ दलहरुबीच गठन भएको समाजवादी मोर्चा भविष्यमा नेकपामा पुग्ने बाटो भएको बताउनुभयो । “विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुको विकल्प छैन । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएका हौं”, उहाँले भन्नुभयो ।
उहाँले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताउनुभयो । “देशलाई छिटो आर्थिक समृद्धि र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता ग¥यौं । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ,” उहाँले भन्नुभयो ।
उहाँले नेकपा टिकाउन नसक्नुको गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने बताउनुभयो । “आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।
उहाँले समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको खुलासा समेत गर्नुभयो । “समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, “माधव जी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं ।”


सोही कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले सो जिम्मेवारी बहन गर्ने प्रयास गरिरहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
अध्यक्ष नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताउनुभयो । “जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो, यस बारेमा अझै पनि गम्भीर चिन्तन मनन गरेर के गर्दाखेरि जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।”
सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने अध्यक्ष नेपालले बताउनुभयो । “सबैका ज्ञान, सबैका अनुभव, सबैका बुद्धिलाई लिएर इमान्दारीताका साथ अगाडि बढ्ने हो भने, अनि हाम्रा ती अग्रज योद्धाहरु जसले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नु भएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ,” उहाँले भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवम् बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका वक्ताहरुले कम्युनिष्टहरु एक हुन सके मात्र जनताको साथै नेकपा संस्थापकहरुको सपना पुरा हुने बताउनुभयो ।