बहुक्षेत्रीय पोषणमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड

भक्तपुर, असार १९
स्वस्थ, समृद्ध, बौद्धिक, सभ्य र सक्षम नागरिक उत्पादन गर्न र मानवपुँजी विकासका लागि बहुक्षेत्रीय पोषणमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले बहुआयामिक गरिवी हटाउन पनि पोषणमा लगानी बृद्धि गर्नुको विकल्प नभएको सुझाएका छन ।
जिल्ला समन्वय समिति भक्तपुरले मंगलवार आयोजना गरेको बहुक्षेत्रीय पोषण सम्बन्धी क्षमता विकास तथा समन्वय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पोषणमैत्री स्थानीय शासनमा जोड दिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाका रेशम कँडेलले पोषणमैत्री स्थानीय शासनका लागि १२ रणनीति र ५४ वटा कार्यनीति तयार गरिएको बताउनुभयो । उहाँले कुपोषण हटाउन व्यवहार परिवर्तन गर्नुपर्ने खाँचो औंल्याउँदै तर चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कँडेलले पोषणमैत्री शासनका लागि स्वास्थ्य क्षेत्रमा २२, शिक्षामा १२, खानेपानी तथा सरसफाईमा ८, कृषि विकासमा ७, पशुपंक्षी विकासमा ३, महिला, बालबालिकामा ९ र शासकिय प्रबन्धमा १५ गरी कुल ७६ वटा सूचकहरु पुरा गर्नुपर्ने जानकारी दिनुभयो ।


“स्थानीय तहको नीति, योजना, कार्यक्रम र पोषण विशेष र पोषण संवेदशील कार्यक्रम सबै व्यक्तिमा पोषण सेवा प्राप्तीको सुनिश्चितता गर्न समर्थ बनाउने वातावरण सृजना हुने गरी कार्यान्वयन गरिने बहुक्षेत्रीय प्रयास पोषणमैत्री शासन हो,” उहाँले भन्नुभयो । उहाँले वि. सं. २०८७ साल भित्र सबै स्थानीय तहलाई पोषणमैत्री बनाउने योजना रहेको बताउनुभयो ।
“महिला तथा बालबालिका र किशोरीहरुको पोषण अवस्था सुधार गर्नु, बहुक्षेत्रीय अभ्यासलाई संस्थागत गर्नु र स्थानीय तहको नीति, योजना, कार्यक्रम र सेवा प्रवाहमा सुधार गरी पोषणमैत्री स्थानीय शासन पद्धतीको अवलम्वन गर्नु यसको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोग राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालयका सञ्जीव साहनीले नेपालमा मृत्यु भएका बालबालिकाहरु मध्ये ५३ प्रतिशत मृत्युको अप्रत्यक्ष कारण कुपोषण भएको बताउनुभयो । उहाँले बालबालिकाको ८० प्रतिशत मस्तिष्कको विकास पाँच वर्ष भन्दा कम उमेरमा हुने भएकाले अभिभावक र सरकार दुवैले उनीहरुको पोषणमा लगानी बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सके मात्र नवजात शिशुको मृत्यु २० प्रतिशत घटाउन सकिने जानकारी दिँदैं आमाको दुधलाई पनि बालबालिकाको खानाको रुपमा वर्गिकरण गरिएको बताउनुभयो । “जन्मेको एक घण्टाभित्र स्तनपान नगराए शिशुको मृत्यु हुन सक्ने सम्भावना ३ गुणाले बढ्न सक्छ,” उहाँले भन्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भोला गौतमले बहुक्षेत्रीय पोषणको तेस्रो योजना तर्जुमा भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले सरकारले जिससलाई जिम्मेवारीसँगै बजेटको पनि व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले कार्यक्रमको जिम्मेवारी दिने तर बजेट नदिने प्रवृत्तिले सरकारको लक्ष्य प्राप्तीमा अवरोध आउन सक्नेतर्फ सचेत पार्नुभयो ।
जिसस उपप्रमुख सुजाता बादे बैद्यले जिल्लाका चारवटै पालिकालाई पोषणमैत्री नगर बनाउने उद्देश्यसहित जिसस अघि बढेको बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, गैसस, नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाका प्रतिनिधिहरुले उमेर र उचाईको तुलनामा बढी तौल हुनुपनि एक प्रकारको कुपोषण हो भन्ने ज्ञान दिनु आवश्यक भएको बताएका थिए ।