मध्यपुर थिमिको तेर्साटारमा दिउँसो साढे १२ लाखको चोरी

भक्तपुर, असार २०
मध्यपुर थिमि नगरपालिका–३ तेर्साटारमा मंगलवार दिउँसो करिव साढे १२ लाख रुपैंया बराबरको धनमाल चोरी भएको छ । स्थानीय अमिनिटि स्कुल नजिकै राजन ढुंगेलको घरको भुईंतल्लामा डेरा गरी बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३१ वर्षिया श्रीजना बस्नेतको कोठाबाट सो धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार बिहान करिव १० बजे काममा गएकी बस्नेत राती कोठामा आउँदा चोरी भएको थाहा भएको हो । बिहान १० बजेदेखी राती ८ बजेको समयमा बस्नेतको कोठाको मुलढोकाको ताला फोडी भित्र प्रवेश गरेको समूहले दराज र दराजभित्रको सेफ समेत फोडी चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
एसपी केसीका अनुसार एक तोलाका चार वटा सुनका सिक्री, हिराको औंठी ५ वटा, कानमा लगाउने हिराको रिङ एक जोर र एमटी घडी एउटा गरी कुल १२ लाख ४० हजार रुपैंया बराबरको धनमाल चोरी भएको हो ।
घटनास्थलमा प्रहरी प्रभाग सानोथिमिका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक रमेश राई नेतृत्वको टोलीले प्रारम्भिक अनुसन्धान गरी प्रहरी वृत्त थिमिबाट थप अनुसन्धान भइरहेको छ ।