राष्ट्रिय बुद्धिचालमा राजन र सिन्दिरा च्याम्पियन

भक्तपुर, जेठ २५
२४ औं पुरुष र ९ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा राजन सुवेदी र सिन्दिरा जोशी च्याम्पियन बनेका छन । प्रतियोगिताबाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ झापाका राजन सुवेदी नयाँ च्याम्पियन बनेका छन् । उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित नयाँ विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बिच सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक आठ अंक बनाएर राजन च्याम्पियन भएका हुन् । उनले १९२३ रेटेड प्रेमकृष्ण विरुद्ध एक अंक हात पारी सात जित, दुई बराबरी र दुई हारको नतिजा आत्मसाथ गरेका छन् ।


यसैगरी सुश्रुत दाहलले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७.५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल भए । टाइब्रेकका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहे । यससँगै सुश्रुत र क्षितिज दुबैले ओलम्पियाडको यात्रा तय गरेका छन् । सुश्रुतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवालाई पराजित गरेका थिए भने क्षितिजले दोलखाका राजिव कार्कीलाई हराएका थिए ।
झापाकै प्रकाशचन्द्र नेपाल ६.५ अंकसहित चौथोमा रहे भने पुरुषोत्तम सिलवाल र गत वर्षको विजेता रुपेश जैयसवालले ६–६ अंक बनाए ।


यसैगरी ९ औं महिला राष्ट्रिय बुद्धिचालमा सिन्दिरा जोशी नेपाल च्याम्पियन बनेकी छिन । अन्तिम खेलमा कृतिसारा अधिकारीसँग पराजित भएता पनि ९ अंक सहित उनी दोस्रो पटक नेपाल च्याम्पियन बनेकाी हुन । सिन्दिराले ११ औं चरणको खेल मध्ये आठ खेलमा सफलता हात पारे भने दुई खेलमा हार ब्यहोरेका थिए ।
अन्तिम खेलमा सिन्दिरालाई पराजित गरेकी झापाकी कृतिसारा ८.५ अंक जोड्दै उप विजेता बन्न सफल भईन् । प्रतिस्पर्धामा उत्कृष्ट खेल पस्केकी कास्कीका पूजा भण्डारी ८ अंक प्राप्त गर्दै तेस्रो भइन । उनीसंगै ८ अंक हात पार्दै शान्ति धिमाल चौथो स्थानमा उभिन सफल भईन् । चार महिला खेलाडी ओलम्पियाडको लागि छनौट हुने क्रममा शान्ति पनि सफल भइन् ।


नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार हंगेरीको बुढापेष्टमा हुने प्रतियोगिताका लागि पुरुष तर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, शुश्रुत दहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिला तर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनौट भएका छन् ।
२३ औं राष्ट्रिय प्रतियोगितामा खुलातर्फको विजेताको रुपमा रुपेश र अस्ट्रेलियामा रहेका विवेक थिङ शीर्ष रेटिङको आधारमा ४५ औं ओलम्पियडमा छनोट भएका हुन । त्यस्तै अस्प्ट्रेलियामा नै रहेकी सुजना लोहनी गतवर्षको विजेताको रुपमा ओलम्पियडमा छनोट भएकी हुन ।
लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।