पत्रकारितामा युट्युवले चुनौती दिएको छ – सांसद थापा

भक्तपुर, जेठ २६
सांसद दुर्लभ थापाले पत्रकारिताको टोकरीमा पत्रकार, युट्युवर, सामाजिक सञ्जाल कसलाई कहाँ अटाउने भन्ने चुनौती आइलागेकोले नितिगत रुपमै छुट्याउनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको नवौं अधिवेशन तथा साधारण सभा एवम् पुरस्कार वितरण समारोहको शनिवार उद्घाटन गर्दै सांसद थापाले वास्तविक पत्रकारभन्दा युट्युवरहरु सक्रिय भइरहेको अवस्थामा पत्रकारहरूले सत्य तथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धा गर्न जोड दिनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठेरो आएमा पत्रकारितामार्फत नै सुल्झाउनुपर्ने बताउँदै हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्ने औँल्याउनुभयो ।
उहाँले पत्रकारको कलम पार्टी निर्देशित हुनुले पछिल्ला दिनहरूमा नेपाली पत्रकारिता कता जाँदैछ भने चिन्ताको विषय बनेको टिप्पणी गर्नुभयो ।


वर्तमान सरकारमाथि टिप्पणी गर्दै उहाँले भन्नुभयो, “राजनितिमा सताधारी नेताहरूमा लाज र नैतिकता हराउँदै गएकोले देशको वर्तमान व्यवस्थामाथि तिनै कम्युनिष्टहरुबाट खतरा रहेको छ । थापाले राजनीतिक दलभित्र कम्युनिष्ट नाम राखेर कमाउने काम गरिरहेका पार्टी विरुद्ध अन्तिम हदसम्म लड्ने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक रूपमा हजारौँको संख्यामा वैदेशिक रोजगारीमा गएका जनतालाई रोक्न सञ्चारमाध्यमहरूले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपाली संचारमाध्यम र पत्रकार महासंघ जस्ता संस्थाले सामाजिक संजालले फैलाउँदै गएको भ्रम, नकारात्मकतालाई चुनौती दिनुपर्ने बताउँदैं उहाँले भन्नुभयो, “निराशाको मात्रै कुरा गरिरहँदा देशमा सम्भावना र अवसरहरु थुप्रै छन । दिनानुदिन युवा विदेशिनु चिन्ताजनक पक्ष हो ।”


पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासंघ समस्याबाट नभाग्ने बताउँदै जस्तोसुकै समस्याको समाधानका लागि अघि बढ्ने बताउनुभयो । देशभरका १३ हजारबाट ७÷८ हजारको संख्यामा पत्रकारहरूको शुद्धीकरण गर्नु पनि ठुलो काम भएको उहाँको भनाइ छ ।
शाखाको अधिवेशनले जारी गरेको घोषणापत्रले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणलाई आस्थाको आधारमा नभई लेख्ने र नलेख्ने पत्रकार बीच निश्चपक्ष, तटस्थ ढंगले यथाशीघ्र टुंग्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले स्वरोजगारमूलक सञ्चारमाध्यम सबलीकरण गर्न लोककल्याणकारी विज्ञापनको रकम बढाउन र सार्वजनिक विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने व्यवस्था कार्यन्वनमा ल्याउनु पर्ने, स्थानीय सरकारदेखि नै संचार कानून ÷निति बनाएर तर्जुमा गर्नु पर्ने लगायतको पक्षमा घोषणा पत्रले जोड दिनुभयो ।


मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पत्रकारहरुले यदाकदा नीजि स्वार्थ पुरा गर्न गलत समाचार सम्प्रेषण गर्दा पत्रकारिताको विश्वसनीयतामा कमी आउन थालेको बताउनुभयो । उहाँले त्यस्ता समाचारबाट आफुपनि पिडित बनेको बताउनुभयो । उहाँले पत्रकारिताको विकासमा नगरपालिकाले काम गरिरहेको सञ्चारनीति निर्माणको लागि पहल भइरहेको बताउनुभयो ।
कार्यक्रममा सम्मानीत व्यक्तित्व वरिष्ठ पत्रकार एवम् प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवरसिंह बस्नेतले पत्रकारले भाषण भन्दा आफ्ना सञ्चारमाध्यममा लेखेर आफ्नो विचार प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिताले समाजका सबै विसंगतिलाई औल्याउदै उजागर सधैं तल्लिन हुनुपर्ने बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्यहरु ज्ञानप्रसाद पौडेल, बविन बिष्ट र ललिता साहले केन्द्रले समयमा सदस्यता टुंग्याउन नसक्दा जेठ २६ गते तोकिएको निर्वाचन हुन नसकेको र छिट्टै विधिसम्मतरुपमा सदस्यता टुंगिएर निर्वाचन हुने र नेतृत्व हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।


शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा, काठमाण्डौं अध्यक्ष सूर्य सुवेदी, ललितपुर अध्यक्ष सागर न्यौपाने, नेपाल प्रेस युनियन उपत्यका प्रदेश अध्यक्ष लिलाराज खनाल, महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक, सहसचिव हेमराज ढकाललगायतले महासंघको वर्तमान समस्या छिटो समाधान भई यसको गरिमा र साख जोगाउनुपर्नेमा जोड दिनुभयो ।
शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव नविन प्रजापति र प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुँबन्जा श्रेष्ठले निजी विद्यालयलाई बन्द गराउने षडयन्त्र भइरहेकोप्रति संचार जगत सजग भईदिन आग्रह गर्दै पत्रकारले लेखेको समाचारमा क्रस चेकको परिपाटी हराउदै गएको बताउनुभयो ।


सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतलाई नगद ५ हजारसहित अग्रज पत्रकार सम्मान, नगद १५ हजारसहित राजधानी दैनिकका आर्थिक व्यूरोचीफ पूर्णभक्त दुवाललाई स्व. भगवान–राजकुमार स्मृति पत्रकारिता पुरस्कार, रेडियो शिखर एफ एमका कृष्णप्रसाद नेपाललाई नगद ५ हजारसहित स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र राससका फोटो पत्रकार चन्द्रकला क्षेत्री भगवतीलाई क्रियाशिल महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
साथै शाखाको गतिविधि समावेश गरिएको भक्तपुरको पत्रकारिता बुलेटिन विमोचन गर्नुका साथै टेलिफोन नम्बरसहितको उपयोगी डायरी प्रकाशन गरिएको थियो ।
यसैबीच साधारणसभाको बन्दसत्रले शाखाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साथै ७ बुँदें घोषणापत्र जारी गरेको छ ।