मातृभाषा पत्रकारितालाई सरकारले प्रोत्साहन गरेको छ – उप प्रधानमन्त्री श्रेष्ठ

भक्तपुर, जेठ २१
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले प्रोत्साहन गरिरहेको बताउनुभएको छ । मातृभाषा पत्रकारिताको अन्तराष्ट्रिय सम्मेलनको आइतवार भक्तपुरमा समापन कार्यक्रममा उप प्रधानमन्त्री श्रेष्ठले मातृभाषाको संरक्षण र विकासका लागि पनि सरकारले मातृभाषामा पत्रकारिता गर्ने विषयलाई प्रोत्साहन गरिरहेको बताउनुभएको हो ।
“हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ । नेपाल सरकारको निकायहरुले पनि यसमा ध्यान दिन आवश्यक छ । मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्व दिएर प्रोत्साहित गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले मातृभाषामा सञ्चालन भएका मिडियाहरुलाई सम्मान व्यक्त गर्दै मातृभाष पत्रकारिताले मौलिक संस्कृति जोगाउन समेत योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मातृभाषाको संरक्षणका लागि पनि मातृभाषा पत्रकारिताको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले मातृभाषा संरक्षणको लागि काम गरिरहेको बताउँदैं यहाँको मौलिक स्थाननामको संरक्षणका लागि ती नामहरुलाई पुनःस्थापना गरिरहेको जानकारी दिनुभयो ।


उहाँले अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सहभागीहरुले मध्यपुर थिमिका सम्पदाहरुको पदयात्रा गर्नु र मध्यपुर थिमिमा समापन कार्यक्रम गर्नुले यहाँको मौलिक कलासँस्कृति र सम्पदाहरुको प्रचारमा सहयोग पुग्ने र पर्यटन उद्योगमा थप टेवा पुग्ने विश्वस व्यक्त गर्नुभयो ।
दक्षिण एसियाली पत्रकारहरूबीच मातृभाषाको पत्रकारिताको विकासको लागि ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले शनिबार राजधानीमा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुरु भएको थियो ।


नेपालभाषाको पत्रकारिता सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा सो सम्मेलन आयोजना गरिएको हो ।
पाटन निवासी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.सं १९८२ मा (नेपाल संवत् १०४५ बुद्धजयन्तीको दिन) भारतको कलकत्ताबाट बुद्ध धर्म र पछि बुद्ध धर्म व नेपालभाषा नामकरण गरी पत्रिका प्रकाशन गर्नुभएको थियो। सोही सन्दर्भलाई लिएर वर्षभरि विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने निर्णयअनुरूप सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।


नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २०७५ साल जेठ २ गते बुधबार र २०७९ असार २१ मंगलबारमा क्रमशः प्रथम र दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनपछि भएको सो सम्मेलन नेपालमै पहिलोपटक आयोजना गरिएको दाबी गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले मातृभाषाको पत्रकारिता विकासको लागि राज्यले गर्नुपर्ने कार्यहरू सम्बोधनका लागि घचघच्याउन टेवा पु¥याउने बताउनुभयो ।
सार्क जर्नालिस्ट फोरमका अध्यक्ष राजु लामाले मातृभाषाको पत्रकारिताको विकासको लागि दक्षिण एसियाली पत्रकारहरूबीच आपसी ज्ञान र सीपको आदानप्रदान र वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सम्मेलनमा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश र भुटान पत्रकारिता अध्येयता र विज्ञहरूको सहभागिता रहेको थियो ।