सूचना दिन कञ्जुस्याईं नगर्न प्रजिअ श्रेष्ठको निर्देशन

भक्तपुर, जेठ २१
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचना दिन कञ्जुस्याईं गर्न नहुनेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतवार आयोजित ‘सूचनाको हक र कार्यान्वयन सम्बन्धी सूचना अधिकारीसंगको अभिमुखीकरण’ कार्यक्रममा प्रजिअ श्रेष्ठले सूचनाको मागलाई पारदर्शीता देखाउने अवसरको बताउँदैं सूचना दिन कञ्जुस्याई नगर्न जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले सूचनाको हकमाथि प्रकाश पार्दै सूचना दिनु पारदर्शीता देखाउने अवसर पनि भएको बताउनुभयो । “सरकारी कार्यालयका लागि सूचना उपलब्ध गराउनु नै कार्यसम्पादन र उपलब्धीको प्रचारप्रसारको अवसर पनि हो,” उहाँले भन्नुभयो ।
प्रजिअ श्रेष्ठले सूचनाको वर्गीकरणको आवश्यकता औल्याउदै सूचना अधिकारीले दिन नमिल्ने सूचनालाई कारण खुलाई दरपिठ गर्न सक्ने व्यवस्था पनि ऐनमा भएको प्रष्ट पार्नुभयो । “गोप्य राख्नुपर्ने संवेदनशील सूचना दिनुपर्दैन तर त्यसको उचित कारण भने उल्लेख गरिदिनुपर्छ,” उहाँले भन्नुभयो ।
प्रजिअ श्रेष्ठले राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अधिकारी, सूचना मागकर्ता र सूचना अभियन्तालाई सम्मान र पुरस्कृत गर्ने जानकारी गराउदै सूचनाको हक कार्यान्वयनका लागि प्रेरित गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कतिपय सूचना मागकर्ताले जुनसुकै बेला सम्पर्क गर्ने र आक्रोशित शैलीमा प्रस्तुत हुने अनुभव सुनाउदै सूचना अधिकारी आवेशमा आउन नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले सूचना अधिकारी नतोक्ने सार्वजनिक संस्थालाई कसरी बाध्यकारी बनाउने भन्ने जिज्ञासा राख्नुभयो । चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी अनुप लामिछानेले चाँगुनारायणले सूचनाको हक संरक्षण र सम्बर्धनका लागि नगरपालिकाले अभिमुखीकरण सञ्चालन गर्ने योजनाबारे अवगत गराउनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरको सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले सूचना अधिकारीका लागि तालिमको व्यवस्था हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले सूचना अधिकारीहरुलाई क्षमता अभिबृद्धि र थप अभिमुखीकरण आवश्यक परे महासंघले सहकार्य गर्न सक्ने बताउँदैं सरकारी कार्यालयमा मात्र नभई सार्वजनिक सरोकारका सबै संघसंस्थालाई समेत सूचनामैत्री बनाउन सूचना अधिकारीको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी सम्मिलित सो कार्यक्रममा अधिकांश वक्ताहरुले जिल्लामा दुःख दिने मनशायले सूचना माग गर्ने प्रवृत्ति रहेको गुनासो गरेका थिए । उनीहरुका अनुसार प्रयोजन नखुलाई सूचना माग गर्ने र एउटै व्यहोराको सूचना सबै कार्यालयसँग माग गर्ने प्रवृत्ति पनि देखिएको छ ।
कार्यक्रममा सूचनाको हक र कार्यान्वयन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जिल्ला हुलाक कार्यालय भक्तपुरकी कार्यालय प्रमुख सीता लिम्बुले भक्तपुरमा सूचनाको हकको कार्यान्वयन सन्तोषजनक देखिएको बताउनुभयो । उहाँले जिउज्यानसँग सम्बन्धित सूचना २४ घण्टा भित्र दिनुपर्ने र अन्य सूचना सकेसम्म छिटो दिनुपर्नेमा जोड दिनुभयो । सूचना माग्ने तर प्राप्त सूचनाको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था रहेको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले सूचनाको हक सम्बन्धी ऐन २०६४ मा सार्वजनिक निकायमा भएको, भैरहेका वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानुनले अपराध मान्ने गतिविधिबारे सूचना दिन सूचना अधिकारी भैराख्नु नपर्ने भन्दै त्यस्तो सूचना दिनु सार्वजनिक निकायका हरेक कर्मचारीको दायित्व भएको पनि प्रष्ट पार्नुभयो ।