घरभाडा नदिएपछि समिट अस्पतालमा घरधनीले लगाए ताला

भक्तपुर, जेठ २२
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित समिट अस्पतालमा घरधनीले सोमवार ताला लगाइदिएको छ । घरभाडामा लिने दिने सम्झौताको म्याद समाप्त भए पश्चात घरजग्गा खाली गराउन पटक पटक ताकेता गर्दा पनि घरजग्गा खाली गरि नदिएको, घरभाडा पनि नदिएको र सञ्चालक समेत सम्पर्कमा नआएको भन्दै घरधनीले उक्त अस्पतालको मूल ढोकमा ताला लगाइदिएको हो ।
अस्पतालमा ताला लगाउँदा केही बिरामी उपचाररत रहेकोले बिरामीहरुको सेवामा बाधा नपुगोस भनी एउटा सटर खोली त्यहाँबाट मानिस आउजाउ गर्न मिल्ने अस्थायी बाटो भने खुल्ला राखेको छ ।
घरधनी गोमा शिवाकोटी पन्तले जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय मध्यपुर थिमि नगरपालिकाका प्रतिनिधिको रोहबरमा ताला लगाउनुभएको हो ।
घरधनी पन्तका अनुसार अस्पताल सञ्चालक तनहुँको व्यास नगरपालिका ११ घरभई हाल काठमाण्डौं चावहिल बस्ने तेजबिक्रम थापाले २०८० जेठ २५ गतेभित्र खाली गर्ने सहमती २०७९ चैत्र १६ गते गरेका थिए । सो सहमती अनुसार थापाले २०८० जेठ महिनासम्मको घरघाडा वापतको ५३ लाख ३३ हजार ३ सय ३२ रुपैंयाको मिति २०८० बैशाख १५ गतेको र २०८० असार १७ गतेको दुई वटा चेक समेत दिएको तर उक्त चेकको बैंक खातामा प्रयाप्त रकम नभएको पन्तले बताउनुभयो ।
त्यसपछि पनि घरजग्गा खाली गर्न पटक पटक तोकता गर्दा पनि सुनुवाई नभएको, उल्टै अस्पताल सञ्चालक अदालतमा मुद्दामा जाने गरेर दुःख दिन थालेपछि स्थानीय पालिकामा घरबहाल घरवापतको करिव १७ लाख बुझाएर प्रशासनको सहयोगमा ताला लगाउन बाध्य भएको पन्तले बताउनुभयो ।
अस्पताल सञ्चालक थापा भने हाल सहकारीको रकम अपचलन गरेर फरार छन । उनी अध्यक्ष रहेको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ मा रहेको कृषि विकास वचत तथा ऋण लि.को वचत अपचलन गरेर फरार भएका हुन । उनी प्रहरीको खोजी सुचीमा छन । हालै मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका बैठकले सो सहकारीलाई संकटग्रष्ट घोषणा गर्न सिफारिस गरीसकेको छ ।
सो सम्बन्धमा अस्पतालका प्रशासन प्रमुख भुवन श्रेष्ठसँग सम्पर्क गर्दा उनी बोल्न चाहेनन् । फोन सम्पर्क भएका श्रेष्ठले मन्त्रालयमा भएको र पछि सम्पर्क गर्छु भनी प्रतिक्रिया दिन मान्नु भएन ।
अस्पतालमा कार्यरत डा. अभिषेख महासेठले पनि आफु ८ वर्षदेखी सो अस्पतालमा कार्यरत रहेको तर घरभाडा सम्बन्धमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।